उपत्यकाका नदी तथा खोला सङ्लो पार्ने योजना सुस्त



नेपाल समाचारपत्र, काठमाडौं ।

बढ्दो शहरीकरण, तीव्र जनसंख्या वृद्धि लगायत कारणले काठमाडौं उपत्यकाका नदी तथा विभिन्न खोला नाला दैनिक दुर्गन्धित बनिरहेको छ । दुर्गन्धित हटाउने हरेक प्रयास पनि नभएको होईन । तर सफलता भने हात पार्न सकिरहेको छैन ।

बाग्मती, विष्णुमती, धोविखोला, मनोहरा, नख्खु यहाँ मुख्य नदी तथा खोलानालाको रुपमा रहेको छ । यी नदी तथा खोलानालामा अहिले ढलको पानीको सहार मिलेको छ ।

त्यसकारण यहाँ स्वच्छ र सफा पानीको परिकल्पनाको त के कुरा दुर्गन्धले गर्दा खोला छेउ पर्नै हम्मे हम्मे पर्छ । राजधानी बासीले यस्तै दुर्गती भोगिरहनु परेको छ ।

घर, कार्यालय, होटल, कलकारखाना लगायतबाट निस्केका अप्रशोधित फोहोर पानीयुक्त ढल सिधै यी नदी तथा खोलानाला मिसाउनु यसको मुख्य कारण हो ।
यसैलाई मध्यनजर गर्दै आयोजना कार्यान्वयन निर्देशनालयले त्यी फोहोर अप्रशोधित पानीलाई सिधै नदी तथा खोला नालामा नमिसाई पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि मात्रै नदी तथा खोलानालामा छोड्ने व्यवस्था मिलाउन योजनाको काम गरेको धेरै वर्ष वितिसकेको छ ।

तर अहिलेसम्म योजनाको कुनै कामले खरायोको गति लिएको छ भने कुनै योजनाको कामले कछुवाको गति लिएको छ । गुहेश्वरीमा निर्माणाधिन आधुनिक प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको निर्देशनालयका इन्जिनियर किशोर पन्थीले बताउनुभयो ।

‘गुहेश्वरीको प्रशोधन केन्द्रको काम अन्तिम चरणमा छ । अहिलेसम्म ९५ प्रतिशत काम सकेको अबस्था छ । इलेक्ट्रिकलको काम गर्न बाँकी छ ।’, उहाँले भन्नुभयो । यही भदौ महिनाभित्र यस केन्द्रको काम सम्पन्न गर्ने योजना रहेपनि एक वर्ष ढिला हुने गरी म्याद थप गरेको थियो ।

त्यस्तै कोड्कुमा अरु योजनाको भन्दा काममा प्रगति देखिए पनि त्यत्ति सन्तोष जनक छैन । भने सल्लाघारी, धोविघाटमा पनि प्रारम्भिक चरणको काम बाहेक अघि वढ्न सकेको छैन ।

स्थानीयको अबरोध लगायत विविध कारणले गर्दा यी योजनाको कामहरुमा ढिलाई भएको निर्देशनालयले जनाएको छ ।

सल्लाघारी, कोड्कु र धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्र बनाउन चाइनीज कम्पनी शांघाई सफबोन वाटर सर्भिसलाई ठेक्का दिईसकेको छ । कम्पनीले अहिलेसम्म कामको प्रगति देखाउन सकेको छैन । यी काम दुई वर्षभित्र सम्पन्न गर्ने गरी गत वर्ष ठेक्का खुलेको थियो ।

निर्देशनालयले मेलम्चीबाट पानीको आपुर्ति भएसँगै फोहोर पानीको मात्रामा हुने बृद्धिलाई ध्यानमा राख्दै फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम थालेको हो ।

फोहोर प्रशोधन केन्द्रको निर्माण मार्फत नागरिकले ढलको गन्धबाट मुक्त हुन पाउने, स्वच्छ बातावरणको प्रत्याभुति गर्न पाउने, फोहोरबाट हुने रोगको दर कम हुने लगायतका फाइदाहरु लिन पाउने निर्देशनालयले जनाएको छ । तर नागरिकले भने प्रशोधन केन्द्रबाट दुर्गन्ध फैलिन्छ भन्दै विरोध गरिरहेका छन् ।
यी केन्द्रहरु आधुनिक केन्द्रको रुपमा निर्माण गरी उपत्यकालाई सफा, सुन्दर र गन्ध रहित निर्माण गर्न लागिएको हो ।

कुल ६ करोड ८० लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना निर्देशनालयले लिएको छ ।

निर्माण पछि गुह्येश्वरीमा ३२ करोड लिटर, सल्लाघारीमा १४ करोड लिटर, कोड्कुमा १७ करोड र धोविघाटमा ३७/३७ करोड लिटर पानी दैनिक प्रशोधन हुने दुई ओटा केन्द्र बन्ने प्रकृयामा छ ।

विकेन्द्री ढल प्रशोधन प्रणाली गोकर्ण ३ करोड लिटर, भक्तपुरको हनुमानघाट १ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र भने अर्काे वर्षदेखि निर्माण थाल्ने योजना छ । त्यस्तै फोहर पानी प्रशोधन केन्द्रको गुरुयोजनामा चाल्नाखेल प्रशोधन केन्द्र पनि निर्माण गर्ने योजना लिएको छ । तर काम भने सन्तोषजनक देखिएको छैन ।

आधुनिक फोहर पानी प्रशोधन केन्द्रका फाईदाहरु
-आधुनिक फोहर पानी प्रशोधन केन्द्रहरुबाट ढल प्रशोधन गरी नदीमा सफा पानी विसर्जन गरिनेछ । यसबाट नदीको प्रवाह र गुणस्तरमा उल्लेख्य सुधार आउनेछ ।

-फोहर पानी प्रशोधन प्रक्रियामा उत्पन्न हुने मिथेन ग्यासबाट विद्युत उत्पादन हुनेछ । फोहर पानी प्रशोधन प्रक्रियाबाट उत्पन्न हुने लेदोलाई थप प्रशोधन गरी मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

-समग्रमा उपत्यकाका नदीहरुको इकोसिस्टम मा सुधार आई जैविक विविधता, मनोरन्जनात्मक क्रियाकलाप र पर्यटन उद्योगको विकासमा सकारात्मक असर पर्ने ।

-केन्द्रमा प्रशोधन गरिएको पानी सडक सरसफाईमा, सवारी साधनहरु पखाल्नमा र सिंचाईजस्ता कार्यहरुमा उपयोग गर्न सकिन्छ ।

-आधुनिक प्रशोधन केन्द्रहरुमा दुर्गन्ध फैलिने भाग छोपिने र अत्याधुनिक प्रविधियुक्त फिल्टरहरुसमेत जडान गरिने हुँदा वरिपरि दुर्गन्ध फैलिन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्