बच्चाको भोकमा भक्कानिँदै अभिभावक

चारैतिर पानी पेटभरि भोकको आगो



सञ्जय कार्की, रौतहट । दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ ।

‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ दमका रोगी राम शंकरले भन्नुभयो, हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै !
उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ । घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन् । ४० घरपरिबार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् ।

दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन् । साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य छन् ।

स्थलगत रिपोर्ट

चारैतिरको जलमग्न पानीले ६ दिनदेखि घेरिएका उनीहरुको अस्थायी बसोवास भएको स्थानमा पानीको सतह घटेसंँगै प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोली पुगेको छ । पीडितले मंगलबारदेखि केही राहत पाएका छन् ।

बागमती तटबन्धमा अस्थायी बसोबास गरेका उनीहरुले दैनिक मजदुरीसमेत गर्न पाएका छैनन् । चुनाबको बेला भोट माग्न आउने नेताहरु बाढीको बेला कता हराए भनेर उनीहरु पत्रकारलाई नै प्रश्न गर्छन् ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयले दिएको जानकारीअनुसार रौतहटमा यसपटकको वर्षा र बाढीले ४० हजार घरपरिबार विस्थापित हुँदा तीन लाख मानिस प्रभाबित भएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले अधिकर र साधन सम्पन्न पालिकाले बाटो मात्र बनाउने हैन विपद्को पूर्वतयारीसमेत गर्नुपर्ने बताउनुभयो । उहाँले दीघकालीन सोचका साथ कार्य अघि बढाएमा मात्र रौतहट डुवानबाट जोगिन सक्ने बताउनुभयो ।

राम शंकरले भक्कानिदै भन्नुभयो, ६ दिनपछि भएपनि केही राहत त पाइयो, तर यसले कति दिन पेट भर्ने, फेरि अर्को विपद् नआएसम्म बाँचिएला कि भनेर आश जगाउनेसम्म न हो ।

प्रतिक्रिया दिनुहोस्