दलित समुदायका लागि १९२ आवास घर बन्दै



लमही । दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश स्थानीय तहमा ती घर बन्ने भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७÷१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५/१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण गरिने उहाँको भनाइ छ ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित आयोगमा सूचिकृत दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ ।

त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने अधिकृत केसीले बताउनुभयो । त्यस्तै प्रदेश नं ५ को रोल्पामा २१, रुकुम पूर्वमा पाँच र प्यूठानमा ३५ त्यस्ता घर निर्माण हुने भएका छन् ।

रोल्पाकोे गङ्गादेव गाउँपालिकामा छ, माडी गाउँपालिकामा पाँच, सुनिलस्मृति गाउँपालिकामा पाँच र सुनछहारी गाउँपालिकामा पाँच गरी २१ घर निर्माण हुनेछन् ।

त्यस्तै रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा पाँच र प्यूठानको सरुमारानी गाउँपालिकामा १७, नौबहिनी गाउँपालिकामा १४ र प्यूठान नगरपालिकामा १४ घर निर्माण हुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्