४५ दिनमा सकियो मिस्टर नेपाली



अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले दोहोरो भूमिकामा अभिनय गरेको फिल्म मिस्टर नेपालीको छायांकन पूरा भएको छ।
देव भुसालको निर्देशनमा निर्माणाधीन फिल्म करिब ४५ दिनमा सकिएको निर्माण पक्षले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी जानकारी गराएको छ। इन्ड क्ल्याप पार्टीमा फिल्मको छायांकन सकिएको र तिहारको छेकोमा रिलिज गर्ने जानकारी निर्माण पक्षले गराएको छ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माणाधीन फिल्मको छायांकन नवलपरासी र काठमाडौंमा गरिएको छ। फिल्ममा भुवनका साथमा रिमा विश्वकर्मा, विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, रवि डंगोल नवकलाकार साहिल श्रेष्ठ र कुसुम राउतले मुख्य भूमिकामा अभिनय गरेका छन्। अभिनेता भुवन केसीले फिल्मको कथावस्तुले व्यावसायिकतासँगै राष्ट्रियता पनि बोकेको बताए।

नवकलाकार साहिल र कुसुमले एउटा राम्रो फिल्ममा काम गर्ने अवसर पाएको बताए। फिल्मका निर्देशक देव भुसालले सबैको साथ र सहयोगले एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए।

प्रेमराज दाहालद्वारा निर्माणाधीन फिल्ममा दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको एक्सन रहेको छ।

प्रतिक्रिया दिनुहोस्