क्राइसचर्चमा जन्मेका स्टोक्सकै कारण न्युजिल्यान्ड पराजित



लन्डन, (एजेन्सी) ।
आईसीसी क्रिकेट विश्वकप उपाधि इंग्ल्यान्डलाई दिलाउन महत्वपूर्ण भुमिका खेलेका बेन स्टोक्स इंग्ल्यान्ड मूलका होइनन् ।

स्टोक्सकै ब्याटिङले इंग्ल्यान्ड फाइनल खेलको अन्त्यसम्म रहिरह्यो । स्कोर टाइ भएपछि सुपर ओभरमा पनि स्कोर टाइ भएको थियो । नतिजा अधिक चौका प्रहार गरेको आधारमा इंग्ल्यान्डले उपाधि पनि जित्न सफल भयो ।

तर इंग्ल्यान्डलाई पहिलो विश्वकप उपाधि दिलाएर नायक बनेका स्टोक्स न्युजिल्यान्ड मूलका हुन् । क्राइसचर्चमा जन्मेका स्टोक्सले फाइनल खेलमा ८४ रन बनाएर उनको जन्मराष्ट्रलाई घाटा बनाए । उनकै कारण टोली उपाधिबाट विमुख भएको थियो ।

स्टोक्स १२ वर्ष हुँदा न्युजिल्यान्डबाट इंग्ल्यान्ड आएका थिए । त्यहाँका स्थानीय टोलीसँग क्लब क्रिकेट खेल्न शुरु गरे । उनले अगस्ट २०११ मा वानडेमा डेब्यु गरेका थिए । हालै सम्पन्न विश्वकपमा उनले १० इनिङ खेलेर कूल ४ सय ६५ रन बनाए र ७ विकेट पनि लिएका थिए ।

स्टोक्स मात्रै नभई इंग्ल्यान्डका अधिकांस प्रमुख खेलाडी अरु देशका हुन् । इंग्ल्यान्डका कप्तान आयन मोर्गान आयरल्यान्ड मूलका हुन् । उनले २००७ को विश्वकप आयरल्यान्डबाटै खेलेका थिए । २००९ को टी२० विश्वकपमा उनले इंग्ल्यान्डमा स्थान बनाएका थिए । त्यहाँदेखि उनले इंग्ल्यान्डबाटै खेलिरहेका छन् ।

यसैगरी ओपनर जेसन रोय दक्षिण अफ्रिकी हुन् । उनी १० वर्ष हुँदा इंग्ल्यान्ड आएका थिए । यहीबाट उनले पहिलो श्रेणीको क्रिकेट खेले । इंग्ल्यान्डको तर्फबाट उनले २०१५ मा वानडेमा डेब्यु गरेका थिए । उनले हालै सम्पन्न विश्वकपमा ७ खेलबाट ४ सय ४३ रन बनाए ।

त्यस्तै इंग्ल्यान्डलाई सुपर ओभरमा बलिङ गरेका जोफ्रा आर्चर क्यारिबियनको बारबाडोसमा जन्मेका थिए । उनले वेस्ट इन्डिजको तर्फबाट यु १९ पनि खेले । उनी २०१६ मा पहिलो पटक इंग्ल्यान्डमा खेले । ससेक्सबाट पाकिस्तानविरुद्ध उनले खेलेको तीन वर्षपछि २०१९ मा इंग्ल्यान्डको टोलीमा पर्न सफल भए । यो विश्वकपमा उनले कूल २० विकेट लिएका छन् ।

अर्का बलर मोइन अली र आदिल राशिद पनि विदेशी मूलका खेलाडी हुन् । पाकिस्तानको मीरपुरबासी अलीका हजुर बुबा बर्मिंघनमा आएका थिए । यही नै अलीको जन्म भएको थियो । उनले विश्वकपमा ५ विकेट लिएका थिए । राशिद पनि पाकिस्तानी मूलकै हुन् । उनको परिवार १९६७ मा इंग्ल्यान्डको ब्राडफोर्ड आएको थियो । उनले विश्वकपमा ११ विकेट हात पारे ।

विदेशी मूलका खेलाडीलाई टोलीमा खेल्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार संभव छ । आईसीसीको नियम २.१.३ को अनुसार यदि कोही खेलाडी एक देश छाडेर अर्को देशबाट खेल्न चाहनछन् भने सम्बिन्धित देशमा कमसेकम ३ वर्ष बसेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्