विश्वकपमा ४४ वर्षमा ५ म्याच टाई



कविरस शर्मा ।
क्रिकेटको रोमाञ्च त्यस्तो बेला चरमोत्कर्षमा पुग्छ जब कुनै म्याच ‘टाई’ अर्थात् स्कोर बराबरी हुन्छ । दर्शकमा मात्र होईन, मैदानमा रहेका खेलाडीको मुटुको ढुकढुकी पनि ह्वात्तै बढ्ने गर्छ ।

विश्वकपको ४४ वर्षको इतिहासमा मात्र ५ म्याच त्यस्ता भए, जसमा दुवै टोलीले ५० ओभरमा बराबरी स्कोर गरे । तर दुवै टोलीले त्यति नै रन जोड्नु भनेको एक प्रकारले दुर्लभ नतिजा नै हो । खासगरी विश्वकपका ती सबै म्याच सन् १९९९ देखि २०१९ बीच भएका हुन् । अर्को शब्दमा भन्नुपर्दा पांच वटा टाई म्याच २० वर्षभित्र भएका छन् ।

अस्ट्रेलिया विरुद्ध दक्षिण अफ्रीका (१९९९)
दक्षिण अफ्रीकाले टस जित्यो र अस्ट्रेलियालाई पहिले ब्याटिंगका लागि निम्ता गरे । स्टीभ वाग र माइकल वेभनले अर्धशतक लगाए । अस्ट्रेलियाले ४९.२ ओभरमा २ सय १३ रन बनाए । जवाफमा दक्षिण अफ्रीकाले ज्याक्स कालिसको अर्धशतकको मद्दतले ४९.४ ओभरमा २ सय १३ रन नै बनायो । अनि म्याच टाई भयो ।

श्रीलंकाविरुद्ध दक्षिण अफ्रीका (२००३)
डर्बनमा खेलिएको यस म्याचको निर्णय डकवर्थ लुईस नियमबाट भएको थियो । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोज्दा मार्भन अट्टापट्टूले १ सय २४ र अरविन्द डि सिल्भाले ७३ रन बनाए । श्रीलंकाले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ६८ रनको लक्ष्य तयार पा¥यो । खेलका क्रममा बर्षा भयो र डकवर्थ लुईस नियम लगाइयो । अनि नयां लक्ष्य थियो ४५ ओभरमा २ सय २९ रन । हर्शल गिब्सले अर्धशतक लगाए । दक्षिण अफ्रीका ४५ ओभरमा २ सय २९ मा रोकियो र म्याच टाई भयो ।

आयरल्यान्डविरुद्ध जिम्बाब्वे (२००७)
सन् २००७ को विश्वकपको त्यो म्याच किङसटनमा खेलिएको थियो । जिम्बाब्वेले टस जित्यो र फील्डिंग गर्ने निर्णय लियो । जेपी ब्रे ले शतक लगाए । आयरल्यान्डले ५० ओभरमा ९ विकेटको क्षति बेहोर्दै २ सय २१ रन जोड्यो । जवाफमा जिम्बाब्वेले सिबान्डा र म्याटिसकिनयारीको अर्धशतक सहित २ सय २१ नै रन नै जोडेको थियो ।

भारतविरुद्ध इंग्ल्यान्ड (२०११)
सन् २०११ को विश्वकपको यो म्याच बेंगलुरुमा खेलिएको थियो । सचिन तेन्डुलकरको १ सय २० रनको सहयोगमा भारतले ४९.५ ओभरमा ३ सय ३८ रन बनायो । जवाफमा इंग्ल्यान्डले पनि ५० ओभरमा ३ सय ३८ रन नै बनायो । एन्ड्रयू स्ट्राउसले १ सय ५८ रन बनाएका थिए ।

इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्ड (२०१९)
आइसीसी क्रिकेट वल्र्ड कपको इतिहासमा पहिलो पटक फाइनल म्याच टाई भएपछि विजेताको निर्णय सुपर ओभरमार्फत् गरियो । सुपर ओभरमा पनि १५÷१५ रन जोडेपछि पुन खेल टाइ भयो । आयोजक इङ्ल्यान्डले न्युजिल्यान्डलाई बाउन्ड्री धेरै प्रहार गरेको आधारमा हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचाल्यो ।

निर्धारीत ५० ओभरमा न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको थियो । निकोलसले न्युजिल्यान्डका लागि सर्वाधिक ५५ रन जोडे । १ बलमा २ रन आवश्यक भएको अवस्थामा दर्शकको सास नै रोकिने स्थिति आयो । अन्ततः इङ्ल्यान्डले पनि २ सय ४१ नै रन जोड्यो । म्याच भयो टाई ।

प्रतिक्रिया दिनुहोस्