आदिकवि भानुभक्त आचार्यको स्मरण



आदिकवि भानुभक्त आचार्य नेपाली भाषासाहित्यका बहुआयामिक व्यक्तित्व हुन् । हामीले नेपाली भाषासाहित्यका इतिहास पुरुषको २०६औँ जन्मजयन्ती मनाएका छौं । असार २९ गते नेपालमा मात्रै होइन, नेपालीको बसोबास भएका विदेशमा सयौँ स्थानमा आदिकविको श्रद्धा र भक्तिपूर्वक साताव्यापीरुपमा सामाजिक सेवा, साहित्यिक कार्यक्रम गरी मनाइने गरिन्छ । विशेष गरी नेपाल र भारतका नेपाली र विदेशी मुलुकहरुमा आदिकवि कवि भानुभक्तद्वारा रचित रामायण निकै लोकप्रिय रहिआएको छ ।

नेपाली भाषा र साहित्यको प्राथमिककालमा कविता लेख्ने थुप्रै कविहरु नभएका होइनन् । तर, रामायण ग्रन्थलाई सरल र मिठासपूर्ण शैलीमा नेपाली भाषामा भावानुवाद भानुभक्त आचार्यले गरेका थिए । उक्त कृति आमनेपालीको जनजिब्रोमा लोकप्रिय बनेकै कारण उनलाई आदिकविको उपाधि दिइएको थियो । भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु¥याएको योगदानबाट उनी नेपाली समाजका प्राचिन अगुवा मानिन्छन् । उनी नेपालमा मात्र नभएर भारतको दार्जीलिङ, सिक्किम, आसाम र देहरादुनलगायत नेपाली बसोबास भएका ठाउँमा भानु जयन्ती अत्यन्त श्रद्धापूर्वक मनाइँदै आएको पाइन्छ ।

तनहुँको चुँदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा वि.सं. १८७१ असार २९ गते जन्मिएका भानुभक्त आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ फुटकरलगायतका साहित्यिक कृति प्रकाशित भएका छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रहित गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरी भानुभक्तलाई नेपाली जगत्मा चिनाए ।

नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउन मोतीरामले हृदयपूर्वक भानुभक्तलाई उच्च सम्मान दिएका थिए । नेपाली भाषासाहित्यलाई उन्नतिको शिखरमा पु¥याउन आचार्यको सृजनात्मक देनको यथेष्ट कदर पनि गरे । उनले भानुभक्तलाई आफ्नो चरित्र नायकका रूपमा नेपाली भाषासाहित्यको शिरताज बनाउन अतुलनीय भूमिका खेले । जसका कारण भानुभक्तसँगै मोतीराम पनि सँगसँगै जोडिने गर्छन् । चुँदीरम्घा अर्थात् हालको भानु नगरपालिका–४, शिखरकटेरीमा आजपर्यन्त भानुभक्तको स्मृति दिलाउने रामायण घर, पोसाक र संग्रहालयले भानुभक्तको जीवन्तता प्रदान गरेको छ ।

नेपाली समाजमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गरेर आदिकविले नेपाल र नेपाली जनताका लागि मरणोपरान्त गुन लगाएका छन् ।
नेपाली जनताको मन र मुटु छामेर कवि भानुभक्तले अनुवाद गरेको धार्मिक ग्रन्थ रामायणले नै उनलाई आदिकवि बनाएको हो । भानुभक्तद्वारा रचित नेपाली भाषाको रामायण आजपर्यन्त नेपालीका घरघरमा गुञ्जिने गरेको छ ।

राम–सीताको गाथाले भरिपूर्ण सो ग्रन्थ हामी सबैका लागि आदर्श पुस्तक बन्न पुगेको छ । भानुभक्तकालीन कतिपय कविहरुको इतिहास निर्माण नभएर भानुभक्तको मात्र हुनुको कारण पनि सरल नेपाली भाषा र शैलीको प्रयोग नै हो ।
भानुभक्त आचार्यकै सृजनात्मक जगमा टेकेर नै आज नेपाली साहित्यले थुप्रै फड्को मारेको छ । नेपाली भाषालाई शक्तिशाली बनाउन भानुभक्तले खेलेको भूमिका स्तुत्य छ । भानुभक्तकालीन नेपाली जनजीवनमा नेपाली भाषाको विस्तार हुँदै थियो । भानुभक्त संस्कृतका अध्येता भएर पनि यिनले नेपाली भाषामै साहित्य लेखन गरे ।

भानुभक्तले कविता लेखनमा मात्र आफ्नो सीप सीमित राखेनन् । उनी संवाद गर्दा पनि कवितामै बोल्न सक्ने अनौठो शव्दशील्प उनमा थियो । उनको विलक्षण प्रतिभाकै कारण आजपर्यन्त उनकै सृजनाको सम्मान हँदै आएको छ । उनी सबैका मनमन्दिरमा बस्न सफल भएका छन् । नेपाली भाषा र साहित्यका इतिहासपुरूष आदिकवि भानुभक्त आचार्यको स्मरणमा उनको सकारात्मक र भाषिक एकीकरणको सत्प्रयासप्रति हार्दिक श्रद्धाञ्जली !
नारायण विक, नुवाकोट ।

प्रतिक्रिया दिनुहोस्