समाजवादी शिक्षा



माधव ढुङ्गेल
कार्यकारी उपाध्यक्ष
राष्ट्रिय यूवा परिषद्

वाई.पी. आचार्य
समाजवादी शिक्षासंग जोडिएको
विचारधारात्मक इतिहास

सन् १८४८ मा माक्र्स र एङ्गेल्सले विश्वका मजदुरहरू एक होऔं भन्ने नाराकासाथ कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरे। श्रम नगर्नेहरूले उत्पादनका साधनमाथि नियन्त्रण गर्छन्। श्रमिकलाई बाँच्नपुग्ने मात्रै ज्याला दिन्छन्, मुनाफा सबै आफै राख्छन्। यसो गर्दा उनीहरू झन–झन धनी बन्दै जान्छन्, श्रमिक सधै गरिबको गरिब रहन्छन्। यहि विचारधारात्मक जगमा शैक्षिक बहसहरू प्रारम्भ भए। लेनिनले माक्र्सवादको सृजनात्मक प्रयोगका सवालमा व्यापक रूपमा लेखे र रुसमा प्रयोग पनि गरे। उनले बहुप्राविधिक शिक्षामा जोड दिए। यहि शिक्षाले ब्यक्तिलाई श्रम र उत्पादनसँग जोड्ने र चरित्रवान बनाउने तर्क गरे। माओले चीनमा नयाँ अभ्यास गरे जसलाई उनि जनवादी क्रान्ति भने। अर्धसामन्ति र अर्धऔपनिवेसिक देशमा श्रमिक, किसानको नेतृत्वमा सम्पन्न गरिने राजनीतिक क्रान्तिलाई उनि जनवादी क्रान्ति भनि नामाकरण गरे। यसले अर्को सन्देस दियो–माक्र्सवाद कुनै “डगमा” नभएर गतिसिल सिद्धान्त रहेछ। माओले जनताबाट सिक्ने, श्रमिक, मजदुर, किसानहरू सँगसँगै काम गरेर सिक्ने, उनीहरूलाई तत्कालिक पेट पाल्न सक्ने प्रकृतिको शिक्षा दिने, ब्यवस्थापनमा उनीहरूलाईनै सहभागि गराउने, धनी र गरिब, शहरिया र गाँउलेको बीचको खाडल शिक्षाद्वारा नै पुर्ने जस्ता तरिकाको वकालत गरे। यसैलाई उनी जनवादी शिक्षा भने।

नेपालमा पुष्पलालले चिनियाँ मोडेलको नयाँ जनवादी कार्यक्रमको प्रार्दुभाव गरे। उनले नेपाली समाजलाई अर्धसामन्ति र अर्धऔपनिवेसिक भनि ब्याख्या गरे। नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमै पुष्पलालले प्राथमिक शिक्षा अनिवार्य र निशुल्क गर्ने र त्यसको दायित्व राज्यले लिन भन्ने कुरा उल्लेख गरे। जनवादी क्रान्ति र ब्यवस्थाका बारेमा जसरी लेखियो, बहस गरियो त्यसरी नै शिक्षाका बारेमा गरिएन। वि.सं. २०४० को दशकको उत्तरार्धमा मदन भण्डारीले पुष्पलालको नयाँ जनवादी कार्यक्रमलाई थप विकसित र समय सान्दर्भिक बनाउने भन्दै जनताको बहुदलीय जनवादी कार्यक्रमको जन्म गराए।

२०५२ तत्कालिक नेकपा माओवादीले एकाइसौ शताब्दीको जनवाद नामाकरण गरी कार्यक्रम तय गर्यो। माओवादीले शसस्त्र संघर्षका बेला केहि साना कम्युन स्थापना गरी छुट्टै शिक्षा लागू गर्ने प्रयत्न गरे जसलाई उनीहरूले जनवादी शिक्षा भने। नेपाली काँग्रेसले आफ्नो राजनीतिक दस्तावेजमा प्रजातान्त्रिक समाजवादको कुरा गर्छ। यसले बैज्ञानिक समाजवादलाई भने आफ्नो ठान्न सकेन। कम्युनिस्टहरूले जसरी यसको सैद्धान्तिक व्याख्या गरे त्यसरी कांग्रेसले बि पी पछाडी प्रजातान्त्रिक समाजवादको बहस छेड्न सकेन। समाजवादी शिक्षाको व्याख्या र पक्षधरताका कारण शिक्षाको समाजवादी बहस कम्युनिस्ट हौ भन्नेहरूको मात्रै जिम्मा भए जस्तो देखियो।

केहि देशका शैक्षिक अनुभव

सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशनसँगै यूरोपमा ठूलो तरंग आयो। फ्रान्समा १८४८ मा कामदार वर्गको नेतृत्वमा क्रान्ति भयो, पूँजिवादी सत्ता ढल्यो तर नयाँ सत्ता टिक्न सकेन। सन् १८७१ मा पेरिस कम्युन स्थापना भयो तर ७२ दिन सम्म पनि टिकेन । सन् १९१७ मा लेनिनको नेतृत्वमा रुसी क्रान्ति सम्पन्न भयो, विभिन्न राष्ट्रहरू मिलेर एउटा सोभियत संघ बन्यो।

कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्ता स्थापित भएपछि शिक्षामा पनि व्यापक सुधार गरियो। सोभियत शिक्षाको आर्थिक उद्देश्य राम्रा कामदार उत्पादन गर्नु थियो। रुसमा शिक्षालाई मुलतः तीन भागमा बाँडिएको थियो–सामान्य, बहुप्राविधिक र व्यावसायीक। १० बर्षे विद्यालय शिक्षा अनिवार्य र निशुल्क थियो। बिशिष्टीकृत उच्च शिक्षा थियो।

उच्च शिक्षामा प्रवेशका लागि कडा प्रवेश परीक्षा दिनु पर्ने थियो। अधारभुत शिक्षा समान प्रकृतिको थियो। ब्यावसायिक विद्यालयहरू बढी थिए। त्यहाँ शैक्षिक संस्था र सम्बन्धित रोजगारदाता सस्ंथाहरूका बीचमा प्रगाढ संम्बन्ध स्थापना गरिएको थियो जसले गर्दा पढाइसके पछि सहजै रोजगारी पाउन सकिन्थ्यो। शिक्षामा राज्यको सम्पूर्ण नियन्त्रण र लगानी थियो तर ब्यवस्थापन स्थानीय रूपमा गर्ने परिपाटी थियो। सोभियतसंघ ७२ बर्ष सम्म टिक्यो।

सन् १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भएपछि कम्युनिस्ट पार्टीले सत्ता लियो। शिक्षाको पनि कुनै खाका तयार नभइसकेकोले अन्योलता सृजना भयो। सन् १९६६ मा साँस्कृतिक क्रान्ति सुरु भयो। यसले पनि शिक्षालाई तारो बनायो। गाँउका शिक्षकलाई शहर ल्यायो, शहरकालाई गाँउमा पठायो, घाँस कटायो, खेती गरायो। बुर्जुवा र परिवर्तन बिरोधि भनि तमाम मानिसको हत्या ग¥यो, यातना दियो।

जब देन सत्तामा आए उनले समाजवादी बजार अर्थनीति लिए। शिक्षामा पनि माओको उत्पादक शक्तिको स्तन्त्रताको ठाँउमा उत्पादक शक्तिको स्तन्त्रता र विस्तारको नीति लिए। उनले शिक्षालाई आधुनिकिकरणसँग जोड्न खोजे। चीनमा साना ब्यावसायिक शिक्षा प्रदायक संस्था बढी छन्, साधारण शिक्षाका संस्था कम छन्। छोटो अवधिका तालिम लिएर बजारमा जान सक्ने जनशक्ति उत्पादन गर्ने शिक्षामा जोड दिइयो।त्यहाँ कक्षा ९ सम्मको शिक्षा अनिवार्य छ यो निर्णय सन् १९८५ मा मात्रै गरिएको हो। सन् १९८० पछि शिक्षामा बिकेन्द्रीकरण गरिएको छ, काउन्ट्रीलाई जिम्मेवार बनाइएको छ। उच्च शिक्षामा प्रवेश कडा गरिएको छ।

भियतनाम एक समाजवादी देश हो। त्यहाँको शिक्षाको कानुन (१९९०) अनुसार शिक्षा समाजवादी शिक्षा नीतिमा आधारित छ। माक्र्सवाद, लेनिनवाद र हो चि मिन सिद्धान्तमा आधारित छ। त्यहाँ ५ बर्षे प्राथमिक शिक्षा अनिवार्य गरिएको छ। ४ बर्षे आधारभुत माध्यमिक विद्यालय छ। ३ बर्षे माथिल्लो माध्यमिक तहको शिक्षा ब्यवस्था छ। प्राथमिक तह सबैले एकै प्रकारले पढ्न पाउँछन्। आधारभुत माध्यमिक तह पढेपछि थप १—३ बर्षे ब्यावसायिक शिक्षा पढ्न पनि पाउँछन्। यहाँ सन् १९९० भन्दा पहिले निजी विद्यालय थिएनन्। १९९० को शिक्षा कानुनले निजी विद्यालयलाई मुनाफा नलिने सर्तमा खोल्न स्वीकृति दियो। उच्च शिक्षामा प्रवेसका लागि कडा राष्ट्रिय परीक्षा दिनु पर्छ।

नर्वे एक पूँजिवादी देश हो। यसको शिक्षा प्रणाली हेर्ने हो भने अरु कुनै समाजवादी देशको भन्दा फरक छैन। सबैका लागि शिक्षा यो देशको शिक्षाको मुल मन्त्र हो। यहाँ शिक्षालाई अधिकारको रूपमा स्थापित गरिएको छ। किन्डरगार्डेन बाहेक अरु सबै निशुल्क गरिएको छ। शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिएको छ, काउन्ट्री र नगरपालीकालाई जिम्मेवार बनाएको छ। निजि विद्यालय छैनन्। ब्यावसायिक र प्राविधिक शिक्षामा पनि उत्तिकै जोड दिइएको छ। प्रौढको लागि निरन्तर शिक्षालाई पनि प्राथमिकता दिइएको छ।

अमेरिकामा आफ्नै आवश्यकता अनुसारको शिक्षा प्रणाली छ। सन् १९०५ मा फ्रि स्कुल सोसाइटीको स्थापना गरी गरिवहरूका लागि निशुल्क प्रारम्भिक शिक्षा दिन खोजेको देखिन्छ। उनाइसौ शताब्दीको मध्यतिर पब्लिक इलिमेन्ट्री एजुकेशन को सुरुवात गरेको थियो। साथै शिक्षालाई निशुल्क, धर्मनिरपेक्ष, सर्बब्यापी र अनिवार्य गर्ने प्रयास गरेको थियो। जोन डेवेको नेतृत्वमा भएको प्रगतिवादी शिक्षा आन्दोलनले शिक्षाको आधुनिकीकरणमा सघायो। सन् १९६० मा रुसले अन्तरिक्षयान पठाएपछि अमेरिकाले आफ्नो सारा पठ्यक्रममा परिवर्तन गरेको थियो। निग्रोहरूको ‘सँगै बस्ने सँगै पढ्ने’ आन्दोलनले शिक्षामा रंगभेद हटाउन सहयोग ग¥यो।

नर्वे एक पूँजिवादी देश हो। यसको शिक्षा प्रणाली हेर्ने हो भने अरु कुनै समाजवादी देशको भन्दा फरक छैन। सबैका लागि शिक्षा यो देशको शिक्षाको मुल मन्त्र हो। यहाँ शिक्षालाई अधिकारको रूपमा स्थापित गरिएको छ। किन्डरगार्डेन बाहेक अरु सबै निशुल्क गरिएको छ। शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिएको छ, काउन्ट्री र नगरपालीकालाई जिम्मेवार बनाएको छ।

नेपालमा समाजवादी शिक्षाको प्रारूप
सार पक्ष

क) विचारधारात्मक धार: यो शिक्षा माक्र्सवाद भन्दा अलग हुन सक्दैन तर यसले माक्र्सवादको सृजनात्मक बाटो उपयोगकोयो शिक्षासबै विचारका मानिसका लागि हो। त्यसैले शिक्षालाई नेपालीकरण गर्नु पर्ने हुन्छ। बहुलता नेपाली समाजको विषेशता हो, यसले बहुदल खोज्छ, ब्यक्तिगत स्वतन्त्रता मानिसको प्राकृतिक गुण हो यसले प्रजातन्त्र खोज्छ। विद्यार्थीलाई माक्र्सवादी बैज्ञानिक विश्वदृष्टिकोण सिकाइने छ तर शिक्षामा एकल पार्टी नियन्त्रण रहने छैन। यसले बिद्यार्थीको बिषयगततालाई स्वीकार गर्ने छ यसो हुँदा यो समालोचकवादीसँग नजिक हुने छ। अधिकार खोज्न सिकाउने छ, कर्तब्य पुरा गर्न हौसाउने छ। अहिलेका राजनीतिक पार्टीले कार्यकर्तालाई भरिदिए जस्तो एकांकी चिन्तन होइन, अधिकारको माग मात्रै गर्ने शैली होइन, सधै बिद्रोहि बन्ने धारणा होइन जिम्मेवार बन्ने कला सिकाउनु पर्छ।

ख) बर्गीय पक्षधरताः शिक्षामा बर्ग छ। धनि र गरिबबीचको खाडल बुझ्न शिक्षा हेरे हुने खालको छ। अहिले विद्यालय तहमा करीब १८ प्रतिशत विद्यार्थीहरू निजीले धानेको छ। उच्च शिक्षामा करीब ५७ प्रतिशत क्याम्पसहरू निजी स्तरबाट सञ्चालित छन्। ८० प्रतिशत भन्दा बढी शहरमा केन्द्रित छन्। धनि बर्गका ६० प्रतिशतले निजीमा पढ्छन्। गरीब वर्गका जम्मा ६ प्रतिशत बाल बच्चा यी शिक्षालयमा जान्छन्। गरीबले शुल्क तिर्ने औकात नभएर बच्चा पढाउन पाउदैनन्। गरीबका नामको छात्रबृत्ति त्यही दलालीले टप्काउँछ। यी दलाली गाँउ जाँदैनन्, त्यहाँ विद्यालय खोल्दैनन्। कीन की त्यहाँ नाफा कम आउँछ। उच्च शिक्षामा दलालीको आँखा प्राविधिक धारको शिक्षामा छ। छिटो सीप सिकेर व्यवसायमा जान खोज्ने वर्ग यहाँ आउँने हुन्।

ग) समाजवादी शिक्षाको उत्पादन

१. हात र दिमाग दुबै प्रशिक्षित भएकाः माक्र्सले एउटा पूर्णमानव निर्माण गर्नुपर्ने सुझाब दिएका छन्। जव हात र दिमागको प्रशिक्षण हुन्छ त्यहाँ ज्ञान, सीप, र अभिबृत्ति प्राप्ति हुन्छ। यसोहुँदा सीपले श्रमगर्न सघाउँछ, ज्ञानले परिस्थिति बुझ्न, विश्लेषण गर्न, पछिको परिणाम देख्न, समालोचक बन्न, अधिकार खोज्न, कर्तव्य पूरा गर्न सिकाउँछ। अबिृत्तिले सकारात्मक सोचको विकास गर्न, काम प्रति आकर्षित हुन र सामाजिक रूपले समायोजित हुन मद्दत गर्ने छ।
२. क्रान्तिकारी चेत भएकाः क्रान्तिकारी चेत रूपान्तराणकारी चेत हो। बोड्युको भाषामा भन्दा पुनर्उत्पादन गर्ने पूँजीवादको विषेशतामा क्रमभङ्गता गर्दै छलाङ् मार्ने सोच र दृष्टि हो क्रान्तिकारिता। यसले यथास्थितिलाई स्वीकार गर्दैन। टालटुले नीतिलाई वास्ता गर्दैन। वस्तुगत अवस्थाको वस्तुगत विश्लेषणका आधारमा आउने परिवर्तनलाई स्वीकार गर्ने, व्यवस्थापन गर्ने, उपयोग गर्ने र अर्को परिवर्तन तीर लम्किने जनशक्ति उत्पादन गर्ने लक्ष्य समाजवादी शिक्षाको हो।
३. समालोचनात्मक दृष्टि भएका: द्धन्द्धात्मक दृष्टिकोण भएका, वर्गीय चरित्र वुझ्न सक्ने, राष्टभित्रको, समाजभित्रको, धर्म, संस्कृति जात भित्रको, र परिवार भित्रको समेत बर्गीय अवस्था, त्यहाँको शोषण समेत बुझ्न सक्ने र परिवर्तन गर्न सक्ने ल्याकत भएका मानिस उत्पादन गर्ने हो।

४. आशा भएकाः मानिस आशा भएकै कारण बाच्न सक्छ। खिन्नतालाई गरिबीको विबषता ठानिन्छ। गरिब आफ्ना आवश्यकता पूरा गर्न प्रर्यत्न गरिरहन्छ। तर यी प्रयत्नहरूमा ब्रेक लगाईदिने काम हुन्छ सामाजिक संरचना र विश्वासबाट। यसोहुँदा यीनिहरूमा खिन्नता आउँछ। उत्प्रेरणा मार्छ । समाजवादी शिक्षाले यहि खिन्नता ल्याउने तत्वहरूलाई नष्ट गर्न सघाउनु पर्छ र उनिहरूमा आशा जगाउनु पर्छ।
५. प्रतिश्पर्धा नभएर सहकार्य गर्ने जनशक्तिः शिक्षा कुनै खेल होइन जहाँ प्रतिश्पर्धा गरेर हार जीत हुने। गार्नरले बहुसिकाइको सिद्धान्तमा भनेका छन् सबै मानिसले एउटै तरिकाले सिक्न सक्दैनन्। कसैले बोलेर, कसैले खेलेर, कसैले छोएर, कसैले, गरेर, कसैले सुनेर सिक्न सक्छन्। मनोबैज्ञानिकहरू भन्छन् मानिसमा व्यक्तिगत भिन्नता हुन्छ। त्यसैले एक अर्काको सम्मान गर्ने, सहकार्यगर्ने एक अर्काबाट सिक्ने, आफ्नो मात्र नभएर समुदायकै विकास गर्ने कुरामा जोड दिनु पर्छ। समाजवादी शिक्षाले मानिसको क्षमतामा समानता होइन, अवसरमा समानता ल्याउने काम गर्छ। क्षमता अनुसारको सिकाइको अवसर निर्माण गर्दछ।

घ) मानिसलाई मानिस बनाउनेः समाजमा श्रमको शोषण छ। श्रमगर्ने एउटा फाइदा खाने अर्कै छ। यसको अन्त्यका लागि श्रम र शिक्षा जोड्नु पर्छ। मानिसको अस्तित्व श्रमले निर्धारण गर्दछ। तर अहिले मुण्डक उपनिषदमा भने जस्तो अपरा विद्या तिरस्कृत छ। हाम्रो नियमित शिक्षाले सीप कम सिकायो, व्यवहार कम सिकायो। अहिले पनि उच्च शिक्षामा ७९.३ प्रतिशत साधारण धारको पढाइ हुन्छ त्यहा शिक्षा र श्रम जोडिदैन। बाँकी २०.७ प्रतिशत प्राविधिक धारमा पनि उत्पादनमुखी श्रम हुँदैन। आर्थिक सर्बेक्षण २०७६ अनुसार अहिले करिव ४३ लाख युवाहरू श्रमकालागि विदेश गएका छन्। यी मध्य जम्मा १.५ प्रतिशत दक्ष छन्। २४ प्रतिशत अर्धदक्ष र बाँकी ७४.५ प्रतिशत अदक्ष छन्। यहाँ हाम्रो शिक्षाले सीप नसिकाएको प्रस्ट हुन्छ। माक्र्सवादी शिक्षाको सार पक्ष नै शिक्षा र श्रमको एकत्व हो।

ङ) जनताबाट सिकाइः जनताबाट सिक्ने कुरा नै समाजवादी शिक्षा बुर्जुवा शिक्षा भन्दा फरक हुने अधार हो। बुर्जुवाहरू मुलतः गरिव, किसान, मजदुर पछाडि परेका जनतालाई अशिक्षित मान्छन्, उनीहरूलाई पढाउने भन्छन् तर उनीहरूबाट सिक्ने भन्दैनन्। समाजवादी शिक्षाले उनीहरूलाई ज्ञानको स्रोत मान्छ। माओले किसान, तिनीहरू बस्ने समाज, तिनीहरूले काम गर्ने कार्यस्थललाई विद्यार्थीको प्रयोगात्मक कक्षा गर्ने गराउने गुरु र प्रयोगशालाको रूपमा ब्याख्या गर्छन्। चीनमा यस्तै अभ्यास गरे। नेपालमा यीनै आधारभूत वर्गमा परम्परागत ज्ञान छ, सीप छ, प्रविधि छ तर उनीहरूनै प्रताडित छन्। श्रम गर्ने, उत्पादन बढाउनेहरू नै अछुत मानिन्छन्। विद्यालय नपुगेका बालबालिका यीनै वर्गका हुन। बीचमै विद्यालय छोड्ने पनि यीनै वर्गका हुन। यही वर्गका जनताबाट सिक्ने बाटो अपनाउन सके यीनिहरूको सम्मान हुनेछ।

च) नेपाली मौलिकताको रक्षा र हस्तान्तरणः समाजवादी शिक्षाले आयात मात्र होइन भएकोलाई उपयोग र विकास गर्ने भन्छ। चीनमा सि जिङपिङ् ले चीनिया भाषा, चीनिया संस्कृति, त्यहाँको मौलिक दर्शन तावइजम, कन्फुसियनिजम लाई आधार दर्शन मान्ने भने। उत्तर कोरियामा जुच्छे विचार भनियो, क्युवाले आफ्नै पना जोगायो। नेपालमा पनि बेद, उपनिषदमा भएका बैज्ञानिकता, नैतिकता, सभ्यता आदिलाई अधार मान्न सकिन्छ। बौद्ध दर्शनको द्धन्द्धवाद, कारण प्रभावको नियम, साँख्य दर्शनको द्धन्द्धवाद मौलिक दर्शन हुन सक्छन्। बेलायतको न्यायालयका व्यारिस्टरले गिताको सार अनिवार्य पढ्नु पर्ने तर नेपालीलाई पत्तो नहुने ? दर्शन र सभ्यतालाई धर्मसंग मात्रै जोड्नु हुदैन। अहिले शिक्षामा करिब १२ प्रतिशतको हाराहारिमा दाताको लगानी छ । यीनिहरूले नेपाली मौलिकता खुलाउदै छन्।

छ) विकाससँग जोडिएको शिक्षाः विकास बहुआयामिक प्रकृया हो जसमा सामाजिक, सास्कृतिक, राजनीतिक, मानवियका साथसाथै आर्थिक आयामहरू समाहित हुन्छन्। विकासको आर्थिक आयामले कुल ग्रार्हस्थ उत्पादन र प्रतिब्यक्ति आय बृद्धिमा जोड दिन्छ। सामाजिक आयामले सामाजिक मुल्य, मान्यता, दृष्टिकोण, सामाजिक संरचनामा सुधारको माग गर्छ। यसले सामाजिक न्याय, समानुपातिक सहभागिता, न्यायपूर्ण वितरण प्रणाली जस्ता पक्षमा जोड दिन्छ।

रूप पक्ष

क) जिम्मेवारी र लागानीः सरकारीकरण हुँदैमा समाजवादी हुन्छ भन्ने छैन। निजी विद्यालय चल्दैमा समाजवादी मर्म मर्छ भन्ने पनि छैन। तर नेपाल जस्तो दलालपूँजीवादी चरित्र हावि भएको समाजमा शिक्षालाई सरकारीहरण गर्नु बुद्धिमानी हुन्छ। अहिले नेपालमा औषतमा १८ प्रतिशत बालाबालिकाले (कक्षा १ देखि १२) निजी विद्यालयमा पढ्छन्। उच्च शिक्षामा निजी र सामुदायिक (एक प्रकारका निजी) मा करिब ७० प्रतिशत विद्यार्थी छन्। शिक्षा बजेट कुनै बेल १७ प्रतिशत रहेकोमा त्यो घटेर अहिले १०.६८ प्रतिशत छ।

केहि बर्ष देखि १० प्रतिशतको वरीपरी शिक्षामा लगानी छ। अन्तरराष्टिय प्रतिवद्धता अनुसार पनि १५ देखि २० प्रतिशत बजेट शिक्षामा छुट्याउनु पर्ने हो। सोझो रूपमा हेर्दा नेपालले तत्काल सबै शिक्षाको भार थेग्न सक्ने स्थिति देखिदैन। राम्रो संग गर्न यवस्थापन सके २० प्रतिशत बजेट छ्ट्याउँदा सबै सरकारको जिम्मामा ल्याउन सकिन्छ। अहिले खुद भर्ना दर ९७.६ प्रतिशत पुगेको छ । विद्यालयमा विद्यार्थी संख्या पहाड र हिमालमा कम हुँदै छन्। अब धेरै विद्यालयहरू मर्ज गर्नु पर्ने छ। यसो गर्दा ठूला विद्यालयको मोडेलमा जाने हो भने धेरै खर्च कटौती गर्न

सकिन्छ। जसले गर्दा विद्यालय तहको शिक्षामा सम्पूर्ण सरकारको लगानी र व्यवस्थापन गर्न सकिन्छ।

ख) समाजवादी व्यवस्थाः समाजवादी शिक्षा लागू गर्न समाजवादमा प्रवेश गर्नुपर्छ भन्ने मत हाबी छ। तर समाजवादी शिक्षाको बाटो हुँदै समाजवादमा पुग्न सकिने तथ्य पनि विर्षनु हुँदैन। समाजवादमा यो शिक्षा मौलाउँछ तर यसको पर्खाइमा जीवन विताउन भने हुँदैन।

 

 

प्रतिक्रिया दिनुहोस्