राष्ट्रपति भण्डारीद्धारा बजेट प्रमाणीकरण, साउन १ गतेबाट लागु हुने



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । सोमबार विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ समेत प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

संसदका दुवै सदनले पास भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ । जेठ १५ गते संसदमा पेश भएको आगामी आर्थिक वर्ष सरकारले १५ खर्ब ३२ अर्बको बजेट कार्यान्वयन गर्दैछ ।

त्यसमध्ये ९ खर्ब ५७ अर्ब चालु खर्च हुनेछ भने पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । वित्तीय व्यवस्थामा भने १ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
भण्डारीले प्रमाणीकरण गरेको बजेट साउन १ गतेबाट कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्