लडे पोल, बिग्रिए सडक, छैन बिजुली



हेटौंडा, (नेस) ।
भारी वर्षाले मकवानपुरका हरेक क्षेत्रलाई आहत बनाएको छ । गाउँगाउँमा सडक अवरुद्ध भएका छन्, विद्युत्का पोल लडेर गाउँ अन्धकार भएका छन्, मोबाइल र इन्टरनेटमा समस्या आएको छ ।

थाहानगरसहित गढी, कैलाश, इन्द्रसरोवर, राक्सिराङ र बागमती गाउँपालिकालगायत क्षेत्रमा सडक अवरुद्ध हुनुका साथै विद्युत्का पोल पहिरोका कारण ढलेका छन् । स्थानीय तहका केही स्थानमा सडक सञ्चालनमा आए पनि धेरैजसो गाउँ र टोलमा सडक अवरुद्ध छन् ।

मकवानपुरका ग्रामीण सडकहरु अवरुद्ध हुँदा हेटौंडा आउने र हेटौंडाबाट गाउँ जान समस्या भएको छ । सडक अवरुद्ध हुँदा गाउँमा बिरामी परिहाले एम्बुलेन्ससमेत जान समस्या भएको स्थानीयले गुनासो गरेका छन् । थाहानगरमा भुङ्दालको सडक बगाएका कारण धेरै समस्या भएको छ । थाहाको खैंटे खोला पुलको छेऊ भत्किएपछि सवारीसाधन ओहोरदोहोर गर्न सकेका छैनन् ।

कैलाश गाउँपालिका जाने सडकको यात्रा सबभन्दा कठिन भएको छ । त्रिभुवन राजपथको चुनियाँदेखि नामटार हँुदै कालिकाटार पुग्ने सडकमा भारी वर्षाका कारण सयौं ठाउँमा पहिरो गएपछि यस्तो अवस्था आएको हो ।

१५ दिनअघि डेढ घण्टामा हेटौंडाबाट कालिकाटार पुग्ने गरेका यात्रु हाल चुनियाँमा सवारीसाधन राख्नुपर्ने बाध्यतामा छन् । पहिरो छल्दै र पन्छाउँदै दिनभर हिँड्नुपर्ने अवस्था छ । निरन्तरको वर्षाले सयौं स्थानमा पहिरो गएपछि यात्रा गर्न समस्या परेको कैलाश अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।

‘यसपटक चुनियाँ–नामटार खण्ड फराकिलो पारिएकोले कच्ची सडकमा पहिरो गएका छन्’ अध्यक्ष मुक्तानले भन्नुभयो–गाउँपालिकाले नै सफा गर्ने हो भने बाटो पुनः बनाउन डेढ महिना लाग्नसक्छ । गाउँपालिकाले मात्र सडक मर्मत गर्न सक्ने नभएकाले प्रदेश सरकारसँग अनौपचारिक कुराकानी भइरहेको मुक्तानले बताउनुभयो ।

‘गाउँपालिका केन्द्र र प्रदेशको राजधानी जोड्ने बाटो चाँडै सुचारु गर्न नसके दैनिक उपभोग्य सामग्री तथा कृषि उपजको ढुवानीमा समस्या पर्नेछ,’ अध्यक्ष मुक्तान भन्नुभयो ।

त्यसो त गाउँपालिकाका माथिल्लो भेग वडा–१, २, ५ र ६ नम्बर वडा जाने सडक पनि वर्षाका कारण ध्वस्त भएको छ । बाटोमा अवरोध आएपछि खुर्सानी, काउली, बन्दालगायत तरकारी ढुवानी गर्न समस्या परेको वडा–५ अध्यक्ष छेकु लामाले बताउनुभयो । वडा–२ को छ्याङ्दुङदेखि सानोडाँडाखर्क हुँदै भार्ता र भार्ता हुँदै कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार जाने मुख्य बाटोमा दर्जनांै स्थानमा पहिरो गएका छन् ।

थाहानगर, इन्द्रसरोवर गाउँपालिका र आसपासका क्षेत्रमा केही दिनदेखि विद्युत् अवरुद्ध छ । लगातारको वर्षाका कारण धेरै ठाउँमा विद्युत्का पोल र रुख ढलेका कारण विद्युत् प्रसारण अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण पालुङ वितरण केन्द्र प्रमुख सन्तोष पन्तले बताउनुभयो ।

उहाँका अनुसार सबै क्षेत्रमा मर्मतको काम भइरहेको भए पनि लगातार पहिरो गएकोले सवारी आवागमनमा समस्या भएको र जनशक्ति अभावका कारण विद्युत् प्रसारणमा केही दिन समस्या छ ।

विद्युत् अवरुद्ध हुँदा गाउँपालिकामा फोन सम्पर्क विच्छेद भएको छ । प्राकृतिक विपद्सँगै अन्धकार र सम्पर्कविहीन भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । थाहानगरमा केही दिनदेखि विद्युत् अवरुद्ध हुँदा प्रशासनिक काम हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नसमेत समस्या भएको र मालपोत र नापी कार्यालयमा इन्टरनेट र विद्युत् नभएको भन्दै सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् ।

पुराना पोलहरुका भरमा विद्युत्का तारहरु राखिएकोले वर्षामा पटकपटक विद्युत् अवरुद्ध भएर समस्या खेप्न बाध्य भएका स्थानीय विद्युत् वितरण केन्द्रप्रति रुष्ट हुँदै आएका छन् ।

मौसम खुलेकाले अवरुद्ध भएका स्थानको विद्युत्का पोल उठाइने र सेवा सुचारु गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । लगातारको वर्षाका कारण अवरुद्ध ग्रामीण सडक खुलाउन केही दिन लाग्ने र विद्युत् भने छिटै सञ्चालनमा ल्याइने प्रजिअ तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्