पर्सामा अबिरल बर्षाले तीनजनाको मृत्यु



कृष्णउदास खनाल , वीरगन्ज ।
विगत केही दिनदेखिको बर्षका कारण पर्सामा बाढीले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

आइतवार राति १० बजे खोलामा खसेर वेपत्ता भएका ५० वर्षीय दुर्गा साह तुराहाको शव भेटिएपछि मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जानकारी दिएको छ ।

वीरगन्ज महानगरपालिका २५ सिर्सिया खाल्वाटोला छोटी भन्सार नजिकै बस्ने दुर्गा साह आइतबार राति पिसाब फेर्न घरबाट बाहिर निस्किएका बेला चिप्लिएर सिर्सिया नदीमा खसेका थिए ।नदीमा आएको बाढीले बगाएपछि उनको मध्यरातसम्म खोजी गरिए पनि फेला पार्न नसकेपछि प्रहरी टोली फर्केको थियो ।
बिहान सशस्त्र प्रहरी बल पर्सा चिनीमिलबाट गएकोे गोताखोर र डुंगा टोलीले खोजतलास गर्दा बिहान ११ बजेतिर उनको शव भेटिएको थियो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया भकुवा घाट नजिकै तैरिरहेको अवस्थामा साहको शव भेटिएको सशस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।
यसअघि पर्सामा बाढीले बगाउँदा शनिबार पर्सा कालिकामाई गाउँपालिका ५ सिमराटोल बस्ने अन्दाजी ४० वर्षीय बंका पासवानको मृत्यु भएको थियो भने शनिबार बाढीले वेपत्ता बनाएका वीरगञ्ज महानगरपालिका–१८ भवानीपुर घर भइ वीरगन्ज २३ तेजारथ टोल बस्ने रामनारायण पटेलको छोरा अनुज पटेलको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिनुभयो ।

वीरगन्ज १४ स्थित सिर्सिया खोलामा आएको बाढी हेर्न गएका उनलाई बाढीले वेपत्ता बनाएको थियो ।अबिरल वर्षापछि आएको बाढीले पर्सामा ९९९ घर डुबानमा पार्नुको साथै दुई हजार ५१३ जना विस्थापित बनाएको छ । बाढीले ८ वटा घरमा पूर्णरुपमा क्षती र्पुयाएको प्रहरीको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्