आयुषलाई वासुदेव बाल पुरस्कार



ख्यातिप्राप्त रेडियो कार्यक्रम प्रस्तोता तथा गायक स्व. वासुदेव कोइराला मुनालको ७०औं जन्मजयन्तीको अवसरमा भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुष केसीलाई वासुदेव मुनाल बाल प्रतिभा पुरस्कार २०७६ प्रदान गरिएको छ।

हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कार प्रदान गरे। स्व. वासुदेव मुनालको स्मृतिमा गठित वासुदेव कोइराला मुनाल स्मृति फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा स्व. मुनालको तश्वीरमा प्रमुख अतिथि विष्टसहित अन्य अतिथिले फूल अर्पण गरेका थिए। मुनालको गत २०७४ असोज १४ गते निधन भएको थियो। उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मस्तिष्कघात र घाँटीको क्यान्सरबाट पीडित थिए। ९ वर्षसम्म मस्तिष्कघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो।

कार्यक्रममा मन्त्री विष्टले वासुदेव मुनालले बाल साहित्यमा पु¥याएको योगदानको कदर गर्दै देशले सधंै सम्झने व्यक्तिका रूपमा प्रशंसा गरे। उनी आफू पनि स्व. मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको बताए। स्व. वासुदेव मुनालको ७०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश तथा वासुदेव मुनाली बालसखा सुशीला कार्की पनि उपस्थित भएकी थिइन्।

स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा वासुदेव कोइराला मुनाल स्मृति फाउन्डेसनबाट पूरा गर्ने बताए। ‘बुबाले धेरै सपना देख्नुभएको थियो। मुनाल साँझ गर्ने, कृतिहरू प्रकाशन गर्ने र सबैभन्दा ठूलो सपना आफ्नो नाममा पुरस्कार प्रदान गर्ने थियो। उहाँको त्यो सपनामध्ये एउटा सपना पूरा गरेका छौं। आउने पुस्ताले वासुदेव कोइराला ‘मुनाल’ सम्झन अरू कार्यक्रम पनि गर्नेछौं।’ –कार्यक्रममा उनले भने। कार्यक्रममा स्व. मुनालका बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो। जसमा रक्षामन्त्री ईश्वर पोखरेल, हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य, गीतकार डा. कृष्णहरि बराल, कलाकार दीपकराज गिरी, सञ्चारकर्मी नवराज लम्साल, श्रममन्त्री गोकर्ण विष्टलगायतले उनले रेडियोमार्फत बाल साहित्य र गायन क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।

फाउन्डेसनका अध्यक्ष तथा स्वर्गीय मुनालका भाइ प्राडा उपेन्द्रकुमार कोइराला (मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति) दाइ मुनाललाई सम्झँदा निकै भावविह्वल भएका थिए। उनले दाइ मुनालको प्रशंसा गर्दै भने– ‘दाइ अभूतपूर्व क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो। मैले दाइलाई मेरो पितापछिको दोस्रो पिता ठानेको छु।’ उनले फाउन्डेसनमार्फत आयुषझैं प्रतिभा भएका धेरै बालबालिकालाई पुरस्कृत गर्ने जनाए। भविष्यमा स्व. वासुदेव कोइराला ‘मुनाल’को सम्झनामा सामाजिक कार्य गर्ने उनले बताए। उनले वासुदेव कोइराला बालबालिका र संगीतको संसारमा एक संस्था बनेर अनन्तको पथिक बन्ने बताए।

मुनालले पानी खाने निउँले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झमझम इस्टकोटलगायत १ सय ५० आधुनिक गीत, सय बालगीत, १ सय २० लोक गीत र ११ वटा राष्ट्रिय गीत गाएका छन्। रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर ख्याति आर्जन गरेका स्व. मुनालले हाम्रा शत्रु (बाल चित्रकथा संग्रह), पिँ पिँ गर्छ बाजा (बालगीत संग्रह), घैंटोमा घाम (बालनाटक संग्रह), हराएको हात (बालकथा संग्रह) लगायतका बाल साहित्यिक पुस्तक पनि प्रकाशित गरेका थिए। उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए। उनको ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्