कमाल मुद्राराक्षसको !



भन्छन् नि विश्व विश्वासमा नै अडेको छ । तर आजको विश्वमा यो विश्वास टुट्दै गएको छ । नेपाली समाजमा पनि त्यस्तो हावा छिरेर घर–घरमै विश्वासको भित्तो भत्केको देख्दा धरहरालाई धेरै चिन्ता लाग्छ । पशुपतिनाथले नै जोगाइदिएको हाम्रो देशां कहिले त न भोक लाग्छ न निद्रा पर्छ । यही चिन्ताले धरहरा सिद्रो सुके झैँ सुकेको कसले देख्ने ?

कसलाई भन्ने आफ्नै पीर ? यस्तै पीरले चाउरिँदै आइतबार सतुङ्गलस्थित यातायात व्यवस्था विभाग पुगेपछि भने धरहराको चिन्ता एकाएक दूर भयो । धरहरामा खुशीको पराकम्पन यति गयो कि धन्दै ढल्यो ०७२ साल वैशाख १२ गतेको दिन झैँ । कुरो के रहेछ भने, सेवाग्राहीलाई मध्यस्थकर्ता राख्न पर्दैन भन्दै त्यहाँ कानको जाली फुट्ने गरी माइकबाट कराइँदोरहेछ ।

तर त्यो त देखाउने दाँत पो रहेछ । कार्यालयका अत्यन्तै महत्वपूर्ण फाइलका ढड्डा त भित्रभित्रै तिनै मध्यस्थकर्तालाई पो दिँइदोरहेछ । वाफरे वाफ ! कति गहिरो विश्वास ? ती ढड्डा हराए भने !, कागज गायव बनाइयो भने । धरहरालाई निकै खुल्दुली लाग्यो –हैन आजको ‘सेल्फी’ जमनामा त्यत्रो विश्वास कसरी पलाएको होला ? धरहराले ट्याङ ट्याङ आफ्नै टाउकोमा हान्दै एकछिन गम खायो–कमाल त्यही मुद्रा राक्षसको त होला नि !

प्रतिक्रिया दिनुहोस्