नेकाप्रतिको अपेक्षा



नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकप्रति यसका शुभचिन्तकहरुमा पार्टी समृद्धिका पक्षमा निर्णय हुने अपेक्षा देखिन्छ । यस प्रकारको अपेक्षा स्वाभाविक पनि छ । किनभने नेपाली कांग्रेस अद्यावधिक सक्रियताका हिसाबले मुलुकको सबैभन्दा पुरानो पार्टी हो । लोकतन्त्रको लागि लडेको लामो इतिहास बोकेको यस पार्टीले संस्थापक वीपी कोइरालाको विचारलाई अहिले सम्म आत्मसात् गर्दैआएको छ ।

लोकतन्त्रको लागि २००७ सालको आन्दोलनलाई नेतृत्व दिएको कांग्रेस मुलुकमा भएका राजनीतिक परिवर्तनहरुमा निर्णाक भूमिकामा रह्यो । सशस्त्र विद्रोहमा लागेको माओबादीलाई शान्ति प्रक्रियामा ड¥याउने, मुलुकमा गणतन्त्र ल्याउने र संविधानसभाबाट संविधान जारी गर्नेजस्तो अत्यन्त महत्वपूर्ण विषयमा समेत कांग्रेसकै नेतृत्व रहेको थियो ।

मुलुकको लागि यति ठूलो योगदान पु¥याएको कांग्रेस अहिले इतिहासकै सबैभन्दा कमजोर अस्थामा पुगेको छ । यो स्थानीय, प्रदेश र संघ तीन तहकै निर्वाचनमा नराम्ररी पराजित भयो । आन्तरिक गुट–उपगुटमा विभाजित हुनु र ‘भित्तो थेग्ने छेपारो’ जस्ता पदीय लोभमा चुर्लुम्म डुबेका नेतृत्वका कारण यसको प्रभाव कमजोर भयो । गुटमात्र बनाएर पनि प्रभावशाली नेताहरु सन्तुष्ट छैनन्, उपगुट पनि चलाइरहेका छन् ।

संघीय संरचनाअनुसार पार्टी संगठन निर्माण गर्न नसकेकोमा यी नेताहरुलाई कुनै खेद छैन । पार्टीको गुमेको साख उचो पार्न पहिलो चरणको देशव्यापी जनजागरण अभियान सञ्चालन गरेको दलका नेताहरुस्वयम् आफ्नो कामप्रति सन्तुष्ट देखिन्नन् । यस जनजागरण अभियानले आम कार्यकर्ताहरुलाई जागृत गराउनेभन्दा पनि नेता तथा कार्यकर्ताहरु आरोप–प्रत्यारोपमै बढी केन्द्रित देखिए । यस अभियानमा केन्द्रमा जस्तै गाउँ तहसम्म गुट–उपगुटमा कार्यकर्ताहरु फैलिएको छर्लङ्ग देखियो । आम कार्यकर्ताहरुलाई जागृत गर्ने र पार्टीको गुमेको साखलाई फर्काउने प्रमुख उद्देश्य पूरा भएन । दोस्रो चरणको अभियानमा कांग्रेसले उद्देश्य प्राप्तगर्न सक्छ कि सक्दैन, हेर्न बाँकी छ ।

मुलुकमा परिपक्व विचार र संगठित जन–आधार भएको दल दुई–तीन वटा भएभने देशलाई समृद्ध बनाउन पर्याप्त हुन्छ । कांग्रेस, कम्युनिष्ट र मधेश केन्द्रित दलहरु राष्ट्रिय राजनीतिको निर्णायक तहमा छन् । लोकतन्त्र बलियो हुन सुझबुझसहितको प्रतिपक्षी दल अनिवार्य छ । कांग्रेस कमजोर भएको प्रमख कारण गुट–उपगुटमा विभाजन हुनुका साथै नेतृत्वले नयाँ पिंढीलाई बेवास्ता गर्नुपनि हो । अन्य पार्टीको तुलनामा केन्द्रदेखि गाउँपालिकाको टोल तहसम्म लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्व चयन गर्ने विधान बनाएको कांग्रेसले तत्काल तल्लोतहको अधिवेशन गरी विधानअनुसार १४औं महाधिवेशनमा जानुपर्छ ।

साथै, नयाँ पिंढीलाई नेतृत्व हस्तान्तरण गर्न पनि शीर्ष नेताहरु तयार हुनुपर्छ । आफ्नो विधान र नियमावलीलाई अक्षरशः पालना गरी पार्टीसंगठन मजवुत बनाएमा यसप्रतिको जनआस्था पूरा नहुने कुनै कारण छैन । आमनिर्वाचनहरुमा औशत पराजय भोगेका ठाउँहरुमा पनि २५ प्रतिशतभन्दा कम समर्थक यसका छैनन् । प्रायः ४० प्रतिशत मत पाउने उम्मेदवार विजयी हुने र अरु सहायक दलहरुमा मत बाँडिने अवस्थालाई ख्याल गर्दा यसले निराश हुनुपर्ने अवस्था छैन । यत्ति हो, पार्टीभित्र कतै समस्या छ भने त्यो नेतृत्वमा छ भन्ने सत्यलाई बिर्सन भने मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्