जुलोजिकल पार्क संरक्षण गरौं



पोखराको पचभैयामा प्राणी उद्यान बनेको छ । अंग्रेजीमा जुलोजिकल पार्क भनिने प्राणी उद्यान यहाँको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हुने अपेक्षा छ । पोखराको अमरसिंह चोकमा रहेको युनाइटेड क्लबले २०६७ सालमा चिडियाघरको रुपमा शुरु गरेको यो पार्कमा वन कार्यालय, पोखरा महानगरपालिका र अहिले प्रदेश सरकारबाट पनि रकम विनियोजन गरिएको छ ।

पोखरा महानगरको वडा नम्बर ३०, ३२ र ३२ मा रहेको प्राणी उद्यान करिब १ सय ३४ हेक्टरमा फैलिएको छ । उद्यानमा वन्यजन्तु उद्धार केन्द्र पनि रहेको छ । उद्धार केन्द्रमा राखिएका १८ प्रजातिका जनावर र चराचुरुंगीहरु अवलोकनको लागि अहिले पनि आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । साउन १ गतेदेखि पार्क सबैको लागि खुल्ला गरिने र प्रवेशमा शुल्क लिइने तयारी गरिए पनि शुल्क लिने समयसीमा भने भदौसम्म लम्बिएको छ ।

पोखरालाई पर्यटनको राजधानी भनिन्छ । नेपाल घुम्न आउनेमध्ये करिब ६० प्रतिशत पर्यटकहरु पोखरा आउँछन् । आन्तरिक पर्यटकहरुको पहिलो रोजाइ पनि पोखरा नै हो । तर, पोखरामा पर्यटकको बसाइ भने साह्रै छोटो छ । यहाँ सामान्यतया पर्यटकले साढे २ दिन बिताउँछन् । बसाइ छोटो हुँदा उनीहरुले गर्ने खर्च पनि थोरै हुन्छ । पर्यटक भुल्ने पर्याप्त ठाउँ नभएपछि पर्यटक नअडिएका हुन् । ताल र हिमाल हेरेर मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिँदैन । त्यसैले पर्यटकको बसाइ लम्ब्याउन अन्य मानवनिर्मित संरचनाहरु जरुरी छन् । यही आवश्यता पूरा गर्न युनाइटेड क्बलले चिडियाघरको अवधारणा ल्याएको हो ।

जंगली जनावर हेर्न चाहनेहरुको लागि अब पचभैया क्षेत्र आकर्षक गन्तव्य बन्ने आशा गरिएको छ । पचभैया क्षेत्रमा जंगलसमेत संरक्षण गरिएपछि वरपरका बस्तीहरुमा दिनदहाडै मृगलगायतका जंगली जनावर आउन थालेका छन् । पचभैया क्षेत्र खुल्ला चिडियाघरको रुपमा स्थापित हुने क्रममा छ । गण्डकी प्रदेश सरकारले खुल्ला चिडियाखाना तथा वन्यजन्तु उद्धार केन्द्रको लागि ५ करोड विनियोजन गरेपछि यो क्षेत्र अभैm व्यवस्थित हुन्छ भन्ने आशा पलाएको छ । मुख्य कुरा त पर्यटन प्रवद्र्धनसँगै जोडिएको छ । गण्डकी प्रदेश सरकारले चालू अंग्रेजी वर्षलाई आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा यो उद्यान सक्दो छिटो सञ्चालनमा ल्याउनुपरेको छ ।

कम्तीमा पोखरामा पर्यटकको बसाइ लम्ब्याउन र थप पर्यटकीय गन्तव्य विकास गर्न अब ढिला गर्नुहुँदैन । अहिले जंगली जनावरलाई कतै थुनेर राख्नुलाई गैरकानुनी काम मानिन्छ । प्राणीहरुको अधिकार हनन हुनुहुँदैन भन्ने मान्यता विश्वव्यापी बनेको छ । यस्तो अवस्थामा प्राणी उद्यानमा जंगली जनावर थुन्ने हैन कि उनीहरुलाई स्वतन्त्र विचरण गर्ने वातावरण निर्माण गर्नुपर्छ । त्यसो हुन सके सो क्षेत्रमा जाने पर्यटकहरुले निश्चित ठाउँमा बसेर जंगली जनावरहरुले स्वतन्त्रपूर्वक गरेका गतिविधिहरु हेर्न सक्नेछन् ।

ंगली जनावरको संरक्षण गर्दैगर्दा सो क्षेत्रमा रहेका स्थानीय बासिन्दाहरुको समस्याप्रति नजरअन्दाज गर्न नमिल्ने अर्को पाटो रहेको छ । किनकि, जंगली जनावरले दुःख दिन थाले भने स्थानीयहरुले सो कार्य सहँदैनन् । जंगली जनावरलाई बस्तीतिर छिर्न नदिनेतर्फ बेलैमा सचेतता अपनाउनुपर्छ । स्थानीयवासीलाई साथ नलिई कुनै पनि संरक्षणको काम अगाडि बढ्न सक्दैन ।
– नारायण विक, कास्की ।

बर्खामा सरुवा रोगको खतरा
असारको तेस्रो सातासम्म देशका विभिन्न भागमा वर्षादका कारण बाढीपहिरो, नदीकटान, डुबानजस्ता समस्याले जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न जिल्लामा टाइफाइड र झाडापखालाका बिरामी बढ्दै गएको पाइएको छ । वर्षाको भेलले पानीको मुहान प्रदूषित हुन गई दूषित पानी र खानाका कारण ज्वरो र टाइफाइडका बिरामी बढेका हुन् । यस वर्षको वर्षायामको शुरूआतमै टाइफाइड, निमोनिया र झाडापखालाका बिरामी ह्वात्तै बढ्न थालेका छन् ।

वर्षाद्का बेला सरुवा रोगका बिरामी अझै बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाएर स्वच्छ पानी र खानेकुरामा विशेष ख्याल राख्नुपर्ने चिकित्सकहरुले सुझाव दिइरहेका छन् । दूषित पानीका कारण हेपाटाइटिस ए, सी र ई तथा झाडापखालाका बिरामी बढ्दै गएका छन् भने निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम पनि उत्तिकै बढाएको छ । वर्षायाममा पानीका मुहान दूषित हुने हुँदा पानी उमालेर मात्र पिउन चिकित्सकले सुझाव दिइरहेका छन् । जारको पानीमा समेत ‘कोलिफर्म’जस्ता दिसामा पाइने जीवाणु भेटिएपछि सरुवा रोगको जोखिम बढेको हो ।

सरुवा रोग विशेषज्ञहरुले सीधै मुहानबाट ल्याइएको पानीमात्र नभएर बजारबाट खरिद गरिने जारको पानीसमेत उमालेर प्रयोग गर्न सुझाएका छन् । यसबाट के पुष्टि हुन्छ भने, पछिल्लो समय जारको पानी पनि ढुक्क भएर पिउने अवस्था छैन दूषित पानीको सेवन र सरसरफाइको कमीले भाइरस र ब्याक्टेरिया संक्रमणबाट टाइफाइडका बिरामी बढ्ने गर्छन् ।

विशेष गरी वर्षाद्को बेला पानी उमालेर पिउने बानी बसाल्ने हो भने पनि सरुवा रोगको संक्रमणबाट जोगिन सकिन्छ । टाइफाइड, हैजा, आउँ, झाडापखाला र रुखाखोकीजस्ता सरुवा रोग दूषित पानी, हावा र खानाको माध्यमबाट सर्ने गर्छ । ब्याक्टेरियाबाट सर्ने सरुवा रोगबाट बच्न सर्वप्रथम पिउने पानीमै ध्यान दिनुपर्छ । सरसफाइका साथै सफा शौचालयको प्रयोग गर्ने, ताजा खानेकुराको सेवन गर्ने, साबुनपानीले हात धुने, वातावरण सफा राख्नेजस्ता आधारभूत कुराहरुमा ध्यान दिन सके हैजा र झाडापखालाबाट जोगिन सकिन्छ ।

वर्षाद्को समयमा पानीको मुहान दूषित हुँदा कतिपयले अज्ञानतावश र कतिपयले बाध्यतावश दूषित पानी पिइरहेका हुन्छन् । सामान्य सावधानीबाट हैजा र टाइफाइडजस्ता रोगको जोखिमबाट बच्न सकिने भएकाले यसबारे बेलैमा सतर्क हुनुपर्छ । वर्षायाममा जताततै पानी जम्मा हुने कारण किटाणुको प्रकोप पनि बढी हुन्छ । जसले डेँगु, मलेरिया, आँखा पाक्ने, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायतका रोग निम्त्याउँछ ।

वर्षायाममा हुने उच्च आद्र्रताले शरीरको रोगसँग लड्ने प्रतिरोधक र पाचन क्षमतासमेत घटाउने भएकाले यस्तो अवस्थामा विभिन्न संक्रमणले आक्रमण गर्ने जोखिम रहन्छ । त्यसैले यसको एकमात्र उपाय भनेकै खानपिन र जीवनशैलीमा ध्यान दिनु हो । वर्षाद्मा एकैसाथ विभिन्न रोगको महामारी फैलने सक्ने जोखिम रहन्छ । अहिले राजधानीदेखि विभिन्न प्रदेशका अस्पतालमा टाइफाइड, हैजा, डेँगु, झाडापखाला, औलो, जन्डिसजस्ता रोग देखा परेका छन् ।

यस्ता रोगबाट बच्न सफा खाना, शुद्ध पानी, पर्याप्त सरसफाइ, वातारणीय सरसफाइ नै एकमात्र उपाय हो । चितवनलगायतका जिल्लामा डेँगुको त्रास पनि कायमै रहेकाले लामखुट्टेको लार्भा नष्ट गर्ने, कुखुरा तथा पशुपक्षीको खोर सरसफाइ गर्ने, पानी जम्ने क्षेत्रमा सरुवा रोगको प्रकोप बढ्न नदिनेजस्ता सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।
– भरत कार्की, हाल ः पोखरा ।

प्रतिक्रिया दिनुहोस्