पहिरोले मृत्यु भएका परिवारलाई घरमै राहत



मोतीराम तिमल्सिना, काभ्रे ।
गृह मन्त्रालयले वितरण गर्ने विपद्मा परी ज्यान गुमाउनेका आफन्तहरुको परिवारलाई उपलब्ध गराईने राहत जिल्ला प्रशासन कार्यालय काभ्रेले मृतकका घरमै पुगेर उपलब्ध गराएको छ ।

शुक्रबार अविरल परेको वर्षातका कारण बनेपा नगरपालिका नाला चुनातालमा पहिरोले घर पुरिँदा ६० बर्षिया गोमा दंगाल र उनकै नातिनी ७ बर्षिया सुहावी दंगालको मृत्यु भएको थियो । शनिबार राति रोशी गाउँपालिका ११ भिमखोरीमा ६५ बर्षिया कृष्णदेवी रायमाझीको सुतिरहेको अवस्थामा विद्यालयको पर्खाल भत्किँदा निधन भएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले मृतक गोमा दगांलका पति रामप्रसाद दंगाललाई नगद जनही १ लाखका दरले २ लाख रुपैया हस्तान्तरण गर्नु भएको थियो ।

रायमाझीको परिवारलाई सोमबार नगद १ लाख हस्तान्तरण गरिनेछ । प्रजिअ रानाले पहिरोले पुरिएको घरको अवलोकन गर्दै मृतकका आफन्तहरुलाई नआत्तिन र राज्यले आवश्यक सहयोग गर्ने बचन दिनु भयो । मृतक गोमाका छोराहरु आफन्त रमेश दंगालको घरमा किरिया बसेका छन् । ‘घर पहिरोले पुरिएको छ, भाई देवीप्रसादको घर पनि पहिरोको जोखिममा प¥यो’–पीडित रामप्रसाद दंगालले भन्नुभयो–‘घाईते बुहारी र ३ महिने नातिनीको उपचारमा राज्यले सहयोग गरोस् ।’

घर पुरिँदा गोमाको बुहारी शुशिला दंगाल र उनकी ३ महिने छोरी अनुस्का घाईते भएका थिए । शुशिलाको ७ बर्षिया छोरी सुहावी पुरिएकी थिईन् । घाईतहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याईएको थियो । बनेपाको शिर मेमोरियल अस्पतालमा शुशिलाको आईसियुमा उपचार भईहरहेको छ भने बच्चालाई डिस्चार्ज गरिएको छ । घाईतेहरुको उपचार बनेपा नगरपालिकाले निशुल्क गर्न अस्पताललाई पत्र पठाएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो ।

‘घाईतेको अवस्था खतरा मुक्त छ’–अस्पतालले भन्यो–‘धुलोले निमोनिया र शरिरको तल्लो भाग फ्याक्चर भएकाले आईसियुमा राखेर उपचार गरिएको छ ।’ दंगाल परिवारलाई नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखा, जिल्ला प्रकोप ब्यवस्थापन समिति लगायतको तर्फबाट आवश्यक सामाग्री उपलब्ध गराईएको छ । राहत वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, विष्णु दल गणका गणपति सुबास खड्का, रेडक्रस काभ्रेका सभापति रघुवर चौ प्रधान लगायत घटनास्थल पुग्नु भएको थियो ।

विदेश रहेका गोमाका जेठा छोरा हरिशरण दंगाल आईतबार नेपाल फर्किएर आमाको किरियामा छन् । प्रजिको टोलीले अस्पताल पुगेर घाईतेको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्