मेयर आफ्नै अडानमा, नीति तथा कार्यक्रम अलमलमा



सुनील महर्जन, ललितपुर ।
ललितपुर महानगरपालिकाकोे नीति तथा कार्यक्रम ‘डेटलक’मा परेको छ । बहुमत नगरसभा सदस्यले २०७६र०७७ को कार्यक्रममा राखेको संशोधन प्रस्तावबारे छलफल चलाई सहमति जुटाउने प्रक्रिया अघि नबढेपछि नीति तथा कार्यक्रम नै ‘डेटलक’मा परेको हो। महानगरपालिकाले अहिलेसम्म पनि नीति तथा कार्यक्रम नगरसभाबाट पारित गरी सार्वजनिक गर्न सकेको छैन । यसको दोष महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विपक्षी दलका नगरसभा सदस्यको थाप्लोमा राख्दै आउनुभएको छ ।

यस अवस्थामा विपक्षी दलका वडाअध्यक्षहरुले आईतबार महानगरपालिका – ३ को सभाहलमा पत्रकार सम्मेलन गरी मेयर महर्जनले संशोधन प्रस्तावबारे छलफल हुन नदिन बैठक स्थगित गरेर अलोकतान्त्रिक संस्कार देखाएको बताएका छन् ।

‘बजेट निर्माणको विधि र प्रक्रिया अवलम्बन नगर्नु पहिलो दोष थियो । त्यसपछि समन्वयका लागि मेयर महर्जन लचकदार नहुनु अर्को ठूलो समस्या रह्यो ।’

६६ जना नगरसभाले २२ गते बसेको नगरसभामा १० बुँदे संशोधन प्रस्ताव राखेको थियो । मेयर महर्जनले ल्याएको नीति तथा कार्यक्रममा खासै नयाँपन र जनहितकारी विषय नभएको भन्दै सो प्रस्ताव राखिएको थियो । नगरसभा सदस्य श्याम महर्जन प्रस्तावक र अर्का नगरसभा सदस्य दिनेशजंङ्ग पाण्डे समर्थक रहेको सो प्रस्तावमा २२ जना कार्यपालिका सदस्यले त्यसमा सहमति जनाएका छन् ।

असार २४ गते बसेको बैठकमा प्रस्तावको विषयमा छलफल गराउन माग राख्ने बितिक्कै मेयर महर्जनले ३१ गतेसम्मको लागि नगरसभाको बैठक स्थगित गर्नुभएको थियो । संशोधन प्रस्तावको विषयमा छलफल अघि बढाउनुपर्ने बहुमत नगरसभा सदस्यले माग गरेका थिए । यस्तो बेला मेयर महर्जनले ‘कुन बेला छलफल गर्ने, कुन बेला बैठक राख्ने मेरो अधिकारको कुरो हो भन्दै बैठक स्थगित गर्नुभएको ललितपुर महानगरपालिका– ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो ।

असार मसान्तसम्ममा पनि नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गर्न सकेन भने संघीय सरकारले महानगरपालिकालाई दिने अनुदान रोकिने छ । ‘समयको चापमा विपक्षीलाई पलेर नै नीति तथा कार्यक्रम पारित गराउने सोच मेयर महर्जनको देखियो ।आफू अल्पमतमा परेपनि मयेरको महर्जनले यत्रो दम्भ र हठ रहेछ ।आफ्नो बहुमत भएको भए के सम्म गर्दथ्यो होला ?’

बजेट निर्माण प्रक्रियामा समस्या
बजेट बनाउँदाखेरी नै पर्याप्त छलफल गर्न नदिएको पनि वडाअध्यक्षहरुको गुनासो रहेको छ ।वडाअध्यक्ष महर्जनका अनुसार बजेट बारे स्थानीय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पर्याप्त छलफल नै भएन।‘मेयर बिरामी भनेर बिदामा बस्नुभयो । उपप्रमुखलाई समेत बैठक राख्ने अधिकार दिनुभएन ।’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ।
‘बजेट निर्माणको विधि र प्रक्रिया अवलम्बन नगर्नु पहिलो दोष थियो । त्यसपछि समन्वयका लागि मेयर महर्जन लचकदार नहुनु अर्को ठूलो समस्या रह्यो ।’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ।

३१ गते पारित भएन भने के हुन्छ ?
स्थानीय तहले असार ३१ गतेसम्ममा नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ ।असार १० गते शुरु भएको नगरसभाको बैठक असार १७, १८, २२ र २४ गते गरी पाँच दिन बसिसकेको छ ।

हालसम्म नीति तथा कार्यक्रम बारे नै छलफल सकिएको छैन । नगरसभामा विनियोजित बजेट, आर्थिक विधयेकमा छलफल शुरु नै भएको छैन । कथंकदाचित कार्यक्रम पारित नभए त्यसको दोष विपक्षीलाई दिने नियतले नै ३१ गते नगरसभाको बैठक राखिएको पनि वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठको आरोप रहेको छ ।

असार मसान्तसम्ममा पनि नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गर्न सकेन भने संघीय सरकारले महानगरपालिकालाई दिने अनुदान रोकिने छ । ‘समयको चापमा विपक्षीलाई पलेर नै नीति तथा कार्यक्रम पारित गराउने सोच मेयर महर्जनको देखियो ।आफू अल्पमतमा परेपनि मयेरको महर्जनले यत्रो दम्भ र हठ रहेछ ।आफ्नो बहुमत भएको भए के सम्म गर्दथ्यो होला ?’ २४ का वडाअध्यक्ष दिनेश कार्कीले भन्नुभयो ।

कार्यपालिकाको बैठकमा वडाअध्यक्षहरुले केही कुरो राख्नेबितिक्के ‘तँ मेयर कि म मेयर भन्ने’ मेरो ‘आदेश मान्ने कि नमान्ने’ जस्ता मर्यादाहिन र वडाअध्यक्षहरुलाई निकै होच्याउने र तुच्छ व्यवहार गर्ने गरेको पनि महानगरपालिका २१ का वडाअध्यक्ष रवीन्द्र महर्जनले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

विपक्षीलाई मात्र होइन फरक विचार र सोच राख्ने बितिक्कै नेपाली काँग्रेसका वडाअध्यक्षहरुलाई समेत मेयर महर्जनले दुव्र्यवहार गर्ने गरेको छ ।विगतमा मेयर महर्जनले आफ्नै पार्टीबाट निर्वाचित महानगरपालिका १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य, गणेश केसीलाई पनि अपमानजनक व्यवहार गर्नुभएको थियो ।

मयेरको यस्तै कार्यशैलीबाट आर्जित भएको भन्दै विपक्षी दलका वडाअध्यक्षहरुको संयोजकर्ता समेत रहनुभएका वडाअध्यक्ष महर्जनले भन्नुभयो ‘ मेयर महर्जनले नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन दिनुभएन । सयमा छलफल नगर्ने र हतारमा पारित गर्ने मनसायले नै असार महिनाको अन्तिम दिन नगरसभाको बैठक राख्नुभएको होला ।

१० बुँदे संशोधन प्रस्ताव

(१) महानगरपालिका क्षेत्रभित्र वि सं २०२१ र २०३८ सालमा नापी भएका र नभएका वडाहरुको नापी गर्ने ।
(२) सामुदायिक स्कुल र कलेजको लागि अनुदानको व्यवस्था, पूर्वाधार र गुणस्तरीय शिक्षा सुधार
(३) ७० वर्ष उमेर पुरा भई सामाजिक सुरक्षँ भत्ता पाउनु भएका वृद्ध वृद्धाहरु निमोनिया रोगबाट संक्रमण नहोस् भनेर प्रतिरोधात्मक प्रिभिनियर १३ भ्याक्सिन लगाउने कार्यक्रम
(४) नेपाल सरकारको नीति अनुसार बजेट उत्पादन र रोजगारीसंग अन्तरसम्बन्ध हुनुपर्ने भएकोेले एक वडा एक सामूहिक रोजगार कार्यक्रमको नीति लिनुपर्ने ।
(५) वडालाई तीन तहमा वर्गीकरण गरी तह १ लाई १ करोड ५० लाख रुपैयाँ, तह २ लाई १ लाख ७५ हजार रुपैयाँ र तह ३ लाई २ करोड ७५ लाख रुपैयाँ कायम गर्नुपर्ने ।
(६) विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र, सम्पदा क्षेत्रका मूल सडकतर्फ देखिने घरहरुकम एकै किसिमको रंगरोगन गर्नुपर्ने ।
(७) पर्यटक शुल्कबाट उठ्ने रकम पर्यटक क्षेत्रमा नै खर्च गर्नुपर्ने ।
(८) कार्यालय आवश्यक जनशक्तिको संख्या निर्धारण गर्नुपर्ने ।
(९) बजेट अवन्डामा राख्न नपाउने ।
(१०) सम्पदा बस्तीमा निजी आवास निर्माण मापदण्ड संशोधनका साथ कार्यविधि तयार गरी लागू गर्नुपर्दछ ।

मेयरले तजविजमा पैसा गर्न खर्च पाउने कि नपाउने ?
सहमति जुटाउन सबैभन्दा बढी गा¥हो भएको विषय संशोधन प्रस्तावको बुँदा नं ९ रहेको छ । मेयर महर्जनले नीति तथा कार्यक्रम मार्फत १४ करोड रुपैयाँ तजविजमा खर्च गर्न पाउनुपर्ने गरी अवन्डामा राखिएको छ ।यही नै विपक्षी दलका नगरसभा सदस्यहरुको मुख्य असहमति विषय रहेछ ।‘सरकारको नीति अनुसार बजेट अबन्डामा राख्नुहुँदैन ।त्यसैले सबै शीर्षकहरु बन्डामा राख्नुपर्दछ ।’ वडा नं १५ का वडाअध्यक्ष सुदर्शन मिश्रले भन्नुभयो ।

मेयर महर्जन निर्वाचन हुने बितिक्कै २०७४/०७५ को कार्यक्रममा १४ करोड रुपैयाँ बजेट अवन्डामा राखिएको थियो । विपक्षी दलका वडाअध्यक्षहरुको विरोधको बाबजुढ २०७५/०७६ मा कार्यपालिका कार्यक्रम स्वीकृत गर्ने गरी ९ करोड रुपैयाँमा अवन्डामा राखिएको थियो । ’तर उहाँले कार्यपालिकाबाट छलेर नै ९ करोड खर्च गर्नुभयो ।यस पटक अवन्डामा रकम राख्नै नहुने भनि संशोधन दर्ता गराएको हो ।’ वडाअध्यक्ष मिश्रले भन्नुभयो ।

अवन्डामा राखिएको रुपैयाँ विकास निर्माणमै खर्च हुने उल्लेख गर्दै मेयर महर्जनले अवन्डामा बजेट राख्ने विषयलाई आपत्तिजनक मान्न नहुने जिकिर गर्नुभयो । बहुमत छ भनेर अल्पमतलाई पेल्न नहुने पनि मेयर महर्जनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्