मलेसियाविरुद्ध पारसको कीर्तिमान



नेपाल समाचारपत्र, काठमाडौं
मलेसियाविरुद्धको टी २० अन्तराष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी हुँदा कप्तान पारस खड्काले कीर्तिमान रचेका छन् ।
मलेसियामा भएको उक्त खेलमा कप्तान पारसले शानदार खेल देखाएपछि जित हात पार्न नेपाललाई सहज भयो । १ सय २९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर प्राप्त गरेको हो । जसमा ३२ बलमा अर्धशतक प्रहार गरेका पारसले सुवास खकुरेलको कीर्तिमान तोडेका हुन् ।

पारसले ८६ रनमा नटआउट हुँदै जित दिलाउँदा व्यक्तिगततर्फ टी २० मा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बन्दै कीर्तिमान राखेका हुन् । उनले ५० बलमा ८ चौका र ५ छक्का प्रहार समेत गरे । यसअघि बंगलादेशमा भएको सन् २०१४ को टी २० विश्वकपमा सुवासले अफगानिस्तानविरुद्ध बनाएको ५६ रनको कीर्तिमान थियो ।

यसअघि किनारा ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । टोलीका लागि ओपनर विरन दीपले सर्वाधिक ५७ रनको योगदान दिए । कप्तान अहमद फैजले ४५ रन बनाएका थिए । नेपाली बलरमा करण केसीले २७ रन खर्चेर ३ विकेट लिए भने वसन्त रेग्मी र सन्दीप लामिछानेले २÷२ विकेट लिएका थिए । सोमपाल कामीले एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्