रोटी–बेटी–बाढको सम्बन्ध



नेपाल–भारतबीचको सम्बन्धलाई राजनीति गर्नेहरु ‘रोटी र बेटी’को सम्बन्ध भनेर व्याख्या गर्छन् । धरहरा पनि सहमति नै जनाउँछ– नेपालीहरु प्रायः पाले–पहरेदारी गर्न र भारतीयहरु नेपालमा तर्कारी र खाली सिसीको बोल लगाउँदै नेपाली गाउँ–बस्तीमा डुलिरहेका हुन्छन् । यसबाट आउने पारिश्रमिकले सेलरोटी खान नपुगे पनि भुंग्रे रोटीसम्म चल्छ ।

 

नयाँदिल्ली, कोलकाता, मणिपुर, बनारस, हरिद्वारआदि नेपाल निकटका भारतीय बजारमा मात्र होइन, टाढा रहेका मुम्बई, मद्रास, चेन्याई, मधुराई आदि शहरहरुमा पनि नेपालीहरु मजदुरी गरेका भेटिन्छन् । मजदुरीका स्वरुपहरु अनेक छन्, नेपाली चेलीहरु शरीर व्यापार गरेर पनि रोटीको आर्जनमा लागेका छन् । तर, चेलीको शरीर व्यापारलाई हेरेर ‘बेटीको सम्बन्ध’ भनिएको होइन, यदि यसो हुन्थ्यो भने उखान अलि बेग्लै किसिमले बन्थ्यो । ‘बेटीको सम्बन्ध’ भनेर रेणु यादवहरुको चर्चा गरिएको हो । भारतका बेटीहरु यता आएर मन्त्री वा शासकसम्म बन्न पाउने सम्बन्धका स्मरण गरिएको हो । जे होस्, दुई देशको सम्बन्ध सीता र रामदेखि रेणु र घनश्यामसम्म कायम छ । रोटी र बेटीको सम्बन्ध मजाले पुष्टि हुन्छ ।

तर यो सबै सम्बन्धभन्दा बलियो सम्बन्धका बारेमा कसैले ख्याल गरेको देखिंदैन, त्यो हो बाढीको सम्बन्ध । वर्षाका कारण दुई देशबीच कायम रहेका सीमा स्तम्भहरु डुब्छन्, कहाँदेखि कहाँसम्म नेपाल र कहाँदेखि भारत केही पत्ता लाग्दैन । एक छत्त देखिन्छ । रोटीबेटीको सम्बन्ध अनुहार हेर्दा पत्ता लाग्छ, यो रोटी नेपाली हो र यो बेटी भारतीय हो भनेर चिन्न सकिन्छ । तर बाढीको पानीमा केही चिनिन्न । हुन पनि दुई देशबीच यस्ता समस्याका विषयमा हिउँदतिर एकादुई संयुक्त बैठक बस्छन्, वर्षामा सीमा क्षेत्रका नागरिक र अधिकारीलाई आ–आफ्नो धोती जोगाउँदै फुर्सद हुन्न । जेहोस्, धरहरा अब ‘रोटी, बेटी र बाढीको सम्बन्ध’ भनेर दुई देशको सम्बन्धलाई नयाँ आयाम दिन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्