बिपद्मा सहयोगको हात



बाढीको पीडा र भूकम्पको पीडामा समानता मात्र होइन, भिन्नता पनि छ । बाढी केही हदसम्म मानव नियन्त्रित हुन्छ, तर भूकम्पलाई नियन्त्रण गर्नसकिन्न । तर, दुवै विपद्बाट जोगिने उपाय भने छन्–प्रकृतिको दोहन र भौतिक निर्माणमा बुद्धिमानी देखाउनेहरु यसले दिने पीडाबाट बच्नसक्छन् । विपद् आएपछि सुरक्षित रहने उपायको अनुशरणले पनि जनधनको क्षतिमा न्यूनीकरण हुनसक्छ । तर, विगत तीन दिनयता सिकिएको पाठ हो, बाढीले त्यसै स्थानमा बढी पीडा दियो जहाँ नदी क्षेत्र मिचेर भौतिक निर्माण गरिएको र पानीको बहाब रोक्न सडकको नाममा बाँध बाँधिएको थियो ।

जेहोस्, अविरल वर्षाका कारण आज देशभरको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । शुक्रबारयता मृत्यु हुनेको संख्या ३० पुगिसकेको छ भने शनिवार अवेरसम्मको खवर अनुसार १८ जना बेपत्ता भएका छन् । दर्जनौं घाइते भएका छन्, बाढी पहिरोका कारण ललितपुरमा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौं, खोटाङ, काभ्रेमा क्रमशः तीन–तीन जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई–दुई जनाले ज्यान गुमाएका छन् । पाँचथर, इलाम, झापा, सुनसरी, रामेछाप, ओखलढुंगा, पर्सा, बारा, चितवनमा एक–एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । तराईका अधिकांश भूभाग जलमग्न छन्, भारतसँग सीमा जोडिएका तराईका भूभागमा विगतका वर्षझैं डुवान समस्या दोहोरिएको छ । डुवानका कारण आम सर्वसाधारण मात्रै होइन, पशु चौपायालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्न समस्या भएको छ । सुरक्षा निकाय र स्वयंसेवीको तत्परताले काठमाडौं मुलुकका विभिन्न भेगमा ६४ जनाभन्दा बढीको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । पशु र चौपायालाई पनि सुरक्षित गन्तव्यतर्फ स्थानान्तरण गर्ने प्रयास भइरहेको सुरक्षा निकायको दावी छ ।

अविरल वर्षाले दुर्गम भेग मात्रै होइन, काठमाडौं उपत्यकाजस्ता शहरी पूर्वाधार विस्तार भएका क्षेत्रमा समेत डुवान समस्या देखिएको छ । कलंकी, बल्खु, नैकाप, ललितपुरको नख्खु, कर्मनासा, गोदावरी खोला किनार आसपासका बस्तीमा सोझै खोला बगेपछि जनजीवन प्रभावित बनेको छ । मानव अतिक्रमणका कारण खोलाको भूभाग खुम्च्याइँदा, भल र ढललाई व्यवस्थित नगर्दा, पानीको निकासका लागि यथोचित पूर्वाधार नबनाउँदा ढुवान समस्या बल्झिन थालेको छ ।

हिउँदमा खुम्चिने खोला वर्षाद्को बेलामा उर्लिन्छ, खोलाले पुरानै फराकिलो बाटो रोज्दै गन्तव्यतर्फ बहन्छ भन्ने हेक्का नहुँदा यस्तो समस्या निम्तिने गरेको छ । बाह्र वर्षमा खोलोसमेत फर्किन्छ भन्ने उक्ति यथार्थमा परिणत भइरहेका बेला स्थानीय निकाय र अन्य सरोकारवालाले दिगो समाधानको पहलमा जुट्नै पर्दछ ।

प्राकृतिक विपत्ति मानव नियन्त्रणमा हुँदैन तर, बेलैमा सचेतना अपनाउँदा पक्कै पनि जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । विपदका बेला सँधै सरकारको उपस्थिति पर्याप्त नहुन सक्छ, त्यसैले राज्यले चासो दिएन, राहत र उद्धारमा खटेन भनेर आलोचना गर्नु मात्रै समस्याको समाधान हुँदैन । यस्तो परिस्थितिमा आमनागरिक र सबै क्षेत्रको साथ–सहयोग अपरिहार्य हुन्छ । कुनै दल, पार्टी, गुट र धर्म संस्कारभन्दा माथि उठेर राहत उद्धारमा जुट्नुपर्छ, पीडित परिवारलाई गाँस, बासको व्यवस्थासहित समाजमा पूर्ववत अवस्थामा घुलमिल हुने वातावरण बनाउनु सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्