प्रदेश– ३ सरकारले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख दिने



हेटौंडा । बाढी पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश–३ सरकारले राहत दिने घोषणा गरेको छ । प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोका कारण मृत्यु भएका परिवारलाई एक लाख रुपियाँका दरले राहत दिने निर्णय गरेको हो ।

प्रदेशका १३ जिल्लामा बाढीपहिरोका कारण हालसम्म ११ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । समिति अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो ।

बाढीपहिरोमा परेर घाइते भएकाका लागि प्रदेश सरकारमातहतका अस्पतालमा निःशुल्क उपचार गरिने तर त्यसबाहेकका अस्पतालमा उपचार गराए जनही २५ हजार रुपियाँसम्म राहत रकम उपलब्ध गराइने मुख्यमन्त्री पौडेलले बताउनुभयो । घाइतेको उपचारमा बिलका आधारमा बढीमा २५ हजार रुपियाँसम्म उपलब्ध गराइने उहाँले बताउनुभयो ।

प्रदेश सरकारमातहत ८ अस्पताल छन् । ती अस्पतालमा उपचार गराउँदा घाइतेको उपचार खर्च सबै ब्यहोरिने तर अन्य अस्पतालमा उपचार गराए २५ हजारसम्म ब्यहोरिने भएको हो । विपद् व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बाढीपहिरोको पीडामा परेकालाई थोरै भने पनि राहत उपलब्ध गराउने उद्धेश्यले सहयोग घोषणा गरिएको बताउनुभयो । बाढीपहिरोको पीडा प्रदेशका जिल्लामध्ये मकवानपुरमा बढी भएको मन्त्री जम्कट्टेलले बताउनुभयो ।

बैठकमा प्रदेश सांसद् जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्