खोटाङको एउटै नगरपालिकाभित्र सय बढि घरमा क्षति



रामधन राई, खोटाङ ।
खोटाङमा तीन दिनदेखि परेको लगातारको वर्षासँगै गएको पहिरोका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका एक सय भन्दा बढी घरहरुमा क्षति पुगेको छ । बर्षा तथा पहिरोका कारण १५ वडा रहेको नगरपालिकाका सय बढी घरहरुमा क्षति पुगेको मेयर दिपनारायण रिजालले बताउनुभयो ।

मेयर रिजालका अनुसार नगरभित्रका तीन परिवारका घरमा बस्नै नसक्ने गरी क्षति पुगेको छ । बिहीबार रातीबाट परेको वर्षाले नगरपालिकाको ४ नम्बर वडामा पर्ने खाल्लेकी पवित्रा बस्नेत, ६ नम्बर वडा नेर्पाकी चन्द्रकुमारी बास्तोला र ७ नम्बर वडा दोर्पाका भुपाल विश्वकर्माको घरलाई पहिरोले बस्नै नसक्ने गरी क्षति पु¥याएको छ ।

पहिरो पीडित तीनै वटा परिवार हाल आफन्तकोमा शरण लिएर बसिरहेका छन् । नगरपालिकाको १ नम्बर वडा दिक्तेलवजारमा मात्र १७ घरमा क्षति पुगेको जानकारी आएको बताईएको छ ।

नगरपलिकासँगै जिल्ला प्रशासन, प्रहरी, रेडक्रस, उद्योग बाणिज्य संघ, वडा समिति लगायतले क्षति भएको स्थानको निरीक्षण तथा विवरण गरिरहेका छन् ।

नगरपालिकाले क्षति पुगेका घरपरिवारका लागि तत्कालै एक–एक थान त्रिपाल वितरण गरेको मेयर रिजालले सुनाउनुभयो ।

जिल्लामा बर्षा नरोकिएको र वाढीपहिरोको जोखिम अझै पनि बढिरहेकोले सतर्क हुन सर्वसाधारणलाई आव्हान गरिएको छ ।

वर्कसपमा २० लाखको क्षति
दिक्तेलबजारमा सञ्चालित ए वान अटोपार्टस् स्टोर्स नामक मोटरसाईकल वर्कशपमा पहिरो झर्दा २० लाख रुपैंयाँ बरावरको सामाग्रीमा क्षति भएको जनाइएको छ ।

हलेसी सामुदायिक अस्पताल नजिकै रहेको वर्कशपमाथिवाट झरेको पहिरोले पुरिँदा उक्त क्षति भएको सञ्चालक सविन पाण्डेले बताउनुभयो । शनिवार विहान झरेको पहिरोले भर्खरै खरिद गरेर ल्याईएको वर्कशपका सामाग्रीहरुमा क्षति पुगेको सञ्चालक पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्