काबेली करिडोर प्रसारण लाइन शुरु गर्ने विषयमा सहमति



काठमाडौँ । तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन निर्माण शुरु गर्ने विषयमा सहमति भएको छ ।

उक्त प्रसारण लाइन निर्माणमा नियोजित रुपमा अवरोध भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आग्रहमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको पहलमा आयोजनाको काम शुरु गर्ने विषयमा सहमति जुटेको हो । वर्षाले अवरोध नगरेमा आगामी दश दिनभित्र बाँकी रहेको प्रसारण लाइन निर्माणको काम सम्पन्न गरिने छ ।

रणनीतिक महत्वको प्रसारण लाइन निर्माणमा अवरोध भएको भन्दै प्राधिकरणले स्थानीय प्रशासनलाई समस्या समाधान गरिदिन आग्रह गरेको हो । उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको बेला भारतीय ठेकेदार कम्पनीको पेटी ठेक्का लिएका ऊर्जा उद्यमीसमेत सहभागी स्थानीय ठेकेदारले काममा अवरोध गरेको प्राधिकरणले जनाएको थियो । पुनः काम शुरु गर्ने सहमति भएको आफूले जानकारी पाएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले प्रसारण लाइनको निर्माणसक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना तिर्नुपर्ने अवस्था आएपछि उनीहरूले नियोजित रूपमा काममा अवरोध गरेको प्राधिकरणको आरोप छ । उक्त प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ ।

आयोजना, निर्माण व्यवसायी एवं पेटी ठेक्का लिएका नेपाली ठेकेदारलाई प्रमुख जिल्ला अधिकारी वस्तीले शुक्रबार संयुक्त छलफल गरी समस्या समाधान गर्नुभएको हो । सहमति अनुसार आयोजनाको ठेकेदार कम्पनी ज्यागुर ओभरसिज एण्ड एष्टर जेभीले पेटी ठेकेदारलाई दिनुपर्ने रकम उपलब्ध गराउनेछ ।

आयोजनाको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्सट्रक्सन कम्पनीले काममा लगाएका केही व्यक्तिले निर्माणमा विगत सात दिनदेखि अवरोध गरेका थिए । आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले दश दिनभित्र बाँकी रहेको रकम उपलब्ध गराउन भारतीय ठेकेदार तयार भएपछि काम शुरु हुनेछ भन्नुभयो । निर्वाध रुपमा काम गर्न सकिए बढीमा दुई सातामा बाँकी रहेको दुई किलोमिटर तार तानेर सकिने उहाँको भनाइ थियो ।

स्थानीय पेटी ठेकेदार भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर, भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरूले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेको थियो ।

प्रसारण लाइनको फिदिम–अमरपुर तेस्रो खण्डमा पर्ने कूल १३ किलोमिटर प्रसारण लाइनमा करीब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । सो आयोजनाको लखनपुर–गोदक पहिलो र सोयाक–फिदिम खण्ड सञ्चालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार र अमरपुरमा १३२/३३/११ केभी सव स्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । तेस्रो खण्ड यही असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यसाथ प्राधिकरणले काम गरिरहेको थियो ।

पलाञ्चोक भगवती कन्सट्रक्शन रैराङ हाइड्रोपावर डेभलपमेण्टको सहायक कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इवाखोलामा ९।९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । उक्त कम्पनीले भने बुझाइमा केही समस्या भएको र भारतीय ठेकेदारले पैसा लिएर स्थानीय ठेकेदारलाई नदिएका कारण समस्या आएको भए पनि समस्या समाधान भएको बताएको छ ।

इवाखोला आयोजनाको विद्युत् कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सव स्टेशनमा जोडिने गरी ‘कनेक्शन एग्रिमेण्ट’ भएको छ । प्राधिकरणसँग भएको विद्युत् खरीदबिक्री सम्झौताअनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति अगामी साउन १ गते रहेको छ । यसैगरी अमरपुर सवस्टेशनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना जोडिनेछ ।

प्राधिकरणसँगको सम्झौताअनुसार आयोजनाको विद्युत् उपलब्ध गराउनुपर्ने समय गत वैशाख नौ गते नै हो । पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।

काबेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयवासीको अवरोध, रूख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो । कूल तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्