बाढी पहिरोमा परी प्रदेश १ मा ९ जनाको मृत्यू



सरोज यादव,  विराटनगर । लगातारको वर्षाका कारण प्रदेश १ मा नौ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । वर्षाका कारण भोजपुरमा २ जना र खोटाङमा ३ जनाको ज्यान गएको छ भने ओखलढुङ्गा, झापा, इलाम र सुनसरीमा एक–एक जनाको ज्यान गएको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै अविरल वर्षापछिको बाढी पहिराको कारण पाँचथर, झापा, सुनसरी र एक र मोरङमा २ जना बेपत्ता भएका छन् । बाढीकै कारण कोसी राजमार्ग अन्तर्गत सुनसरी र मोरङ जोड्ने दुहबी नगरपालिकाको पुल जोखिममा परेको छ। दुहबी ग्रिडबाट पूर्व लैजाने १ सय ३२ केभिए प्रसारण लाइनको टावर लोहन्द्रा खोलाको बाढीले जमिन कटान गर्दा ढल्ने अवस्थामा पुगेको छ । बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ६६ वर्षीय जगत बहादुर राई, ट्याम्के मैयुँका जनक विक, सुनसरी इटहरीको सकुमारी खोलाले बगाउँदा सोही स्थानका सागर थापाको मृत्यु भएको छ ।

यस्तै पहिचान नखुलेका २५/२६ वर्षको जस्तो देखिने १ युवाको शव कानेपोखरी २ स्थित गेरुवा खोलाले बगाएको अवस्थामा फेला परेको छ । यस्तै ओखलढुंगा चिसंखुगढी ४ बस्ने वर्ष ८५ की पासाङकुटी शेर्पालाई लसुने खोलाले बगाएर ल्याएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । यस्तै खोटाङ खोटेहाङ गाउँपालिका–२ का एकै परिवारका तीन जना पहिरोमा पुरिएका छन् । पहिरोमा पुरिनेमा २८ वर्षीया रेखा राई, उनको ४ वर्षीय छोरा रोमन राई र ७ महिनाका छोरा रोहन राई रहेका छन् । पहिरोमा परेका विष्णुकमार राईलाई भने सकुसल उद्धार गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले जानकारी दिए ।

वेपत्ता हुनेहरुमा इलाम चुलाचुली–१ का अञ्चल लावती बागडोर खोलाले बगाएर वेपत्ता भएका छन् भने पाँचथर मिक्लाजुङ–४ का ९ वर्षीया दिवन राई नुहा खोलाले बगाएर वेपत्ता भएका छन् । शुक्रबार स्कुलबाट फर्किने क्रममा उनलाई खोलाले बगाएको हो । उनको खोजी कार्य जारी रहेको दाहालले जानकारी दिनुभयो । मोरङको लोहन्द्रा खोलामा आएको बाढीले बगाउदा कटहरी–४ का एक ब्यक्ति बेपत्ता भएका छन । कटहरी–४ फुलटोल मदुराका ५० बर्षिय सोभा सोरेन लोहन्द्रा खोलाले बगाउदा बेपत्ता भएका हुन । स्थानीय बजारबाट किनमेल गरेर घर फर्किदै गरेका उनी खुट्टा चिप्लिएर लोहन्द्रा खोलामा झरेको स्थानिय बिनोद सिंहले जानकारी दिनुभयो ।

सुनसरी–मोरङ जोड्ने पुल जोखिममा बुढी खोलामा आएको बाढीका कारण कोसी राजमार्ग अन्तर्गत दुहबी पुल मुनी अत्याधिक कटान भएपछि पुल जोखिममा परेको छ । कटान नियन्त्रणका लागि सिक्स लेन सडक विभागले तार, जाली बिछ्याउनेदेखि पानी पर्दा माटो नबगोस् भनेर त्रिपालले छोपेको छ । दुहबी पुलबाट आवत जावत गर्दा सावधानी अपनाउन आग्रह गर्दै प्रहरीले पुलमा रातो झण्डा गाडेको छ । सुरक्षाकर्मीले आवत जावतमा सावधानी अपनाउन सचेत गराउने गरेको छ । उक्त पुलको क्षति नियन्त्रणको काम भइरहेको सिक्स लेन सडक योजनाका इन्जिनियर रमेशकुमार गोइतले जानकारी दिए । उक्त पुल जोखिममा परेको भन्द्र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र मन्त्रालयका सचिवहरुले अनुगमन गरेका छन् ।

बेलबारी नगरपालिका–५ मा लोहन्द्रा खोलाले दुहबी विद्युत् गृहबाट पूर्वका लागि लगिएको १ सय ३२ केभिए प्रसारण लाइनको टावरमा क्षति पुर्याएको छ ।खोलाले अत्यधिक जमिन कटान गरेपछि टावर ढल्न सक्ने भन्दै नेपाली सेना, प्रहरी तथा विद्युत् प्राधिकरणको आवश्यक पहलमा रोकथामको काम भइरहेको छ । ढल्न लागेको टावर निरीक्षण पछि दैवि प्रकोप नियन्त्रण कार्यालयलाई १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले तत्काल टावर सुरक्षाका लागि आवश्यक काम गर्न दिर्नेशन दिनुभएको छ । ३३ र ३४ नम्बरको टावर ढले वा क्षतिग्रस्त भए मेची अञ्चलका सबै जिल्लाको विद्युत् आपूर्ति बन्द हुने र ब्लाक आउट हुने दुहबी ग्रिडका सिभिल इन्जिनियर नगेन्द्रकुमार यादवको भनाइ छ ।

उक्त प्रसारण लाईन मेचीबाट उत्पादित विद्युत् आयात गर्ने वा त्यसतर्फ पठाउने लाइन हो । विद्युत् प्राधिकरणले वर्षेनी अल्पकालिन ढंगले टावर सुरक्षाको लागि काम गरिरहेको भएपनि त्यसले धान्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । सोही कुरालाई ध्यान दिँदै प्राधिकरणले थालेको पाइप फोल्डुसनको काम गरिरहेको छ ।

उक्त काम ८० प्रतिशत मात्रै सकिएको कारण ढुक्क हुन नसकिएको उहाँले बताउनु भयो । ०७४ साल साउनमा आएको बाढीले सोही स्थानको सुनसरी मोरङ सिंचाई आयोजनाको नहर र सडक बगाएको थियो । हालसम्म पनि उक्त नहर तथा सडक अझै बनेको छैन । सचेत रहन प्रदेश सरकारको निर्देशन वर्षा नरोकिने र बाढी–पहिरोको जोखिम अझै रहेको भन्दै १ नम्बर प्रदेश सरकारले सबैलाई अनुरोध गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाईमा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले केही दिनदेखि परको अविरल वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लाहरुमा बाढी पहिरो, डुबान जस्ता प्रकोपहरु देखिन थालेको जनाएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै वर्षात् जारी रहनसक्ने पूर्वानुमान गरेको भन्दै बाढी, पहिरो, डुबानजस्ता प्रकोपबाट जन, धनको क्षति हुन नदिन बाढी, पहिरो, डुबान हुने स्थानहरुबाट सुरक्षित स्थानमा सर्न, पूर्व सावधानी अपनाउन र सचेत रहन आम जनसमुदायमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्