अपराध अनुसन्धान कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरौंः आईजीपी खनाल



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धान तथा नियन्त्रणमा विशिष्ट पहिचान बोकेको अपराध अनुसन्धान कार्ययोजनालाई तत्काल एक्सनमै रुपान्तरण गर्नका लागि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना एक दिवसीय समिक्षा कार्यक्रम २०७६ को समापन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
विशिष्ट अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने क्रममा नेपाल प्रहरीको मेरुदण्डको रुपमा रहेको यस कार्ययोजनालाई कार्यक्षेत्रमै तुरुन्तै परिणाम देखिने गरी अगाडि बढाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले समिक्षा कार्यक्रमका सुझाव र निष्कर्षलाई संगठनकोतर्फबाट कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

दक्षता, ज्ञान, सीप र नविन शैलीका साथ मानसिक रुपमा तयार भई चाहेको परिणाम आउने गरी चुनौतीको सामना गर्न सामर्थ्यका साथ अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रणनीतिक योजना र लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ उत्कृष्ट काम गरी संगठनको छवि उच्च राख्न सक्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अझै बढी उपलब्धि हुनुपर्ने संगठनको मान्यता अनुरुप लक्ष्य हासिल गर्न धैर्यता र प्रविधिको उच्चतम प्रयोग गरी चुनौती सुल्झाउन लाग्नुपर्नेमा जोड दिनुभयो । परम्परागत तरिकालाई परिमार्जन गर्दै अगाडि बढ्न मातहत समेतलाई दक्षता अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न कार्ययोजनाको अहम भूमिका रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट अपराध अनुसन्धान गर्न सहज वातावरण बन्ने बताउनुभयो । निष्ठावान र इमानदार हुन सके समाजबाट सहयोग लिने वातावरण बन्ने उहाँले उल्लेख गर्नुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले समिक्षा कार्यक्रमको निष्कर्षलाई विभागको तर्फबाट कार्यान्वयनको अवस्थामा लगिने बताउनुभयो । कार्यक्रमका गतिविधिले व्यावसायिक रुपमा मात्र होइन संस्थागत रुपमा समन्वय गर्ने अवसर दिएकोले यसलाई अवसरको रुपमा लिन आग्रह गर्नुभयो ।

उक्त अवसरमा कार्यक्रमको निष्कर्ष तथा कार्यक्रमबारे प्रकाश पार्दै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले कार्यक्रमलाई अझ बढी प्रभावकारी ढंगबाट कार्यान्यवन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई सहकार्य र समन्वयका साथ अगाडि लैजाने उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता लोकराज पराजुलीले कार्ययोजनाका क्रियाकलापले अपराध अनुसन्धानलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाई फौजदारी मुद्दामा सफलता पाउन मद्दत पुग्ने बताउनुभयो । अनुसन्धनाकर्ता र अभियोजनकर्ताले साझा दृष्टिकोणकासाथ अगाडि बढेमा प्रभावकारिता आउने भएकोले महान्यायाधिवक्ताको कार्यालय समन्वयका साथ अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त समिक्षा कार्यक्रममा उक्त विभाग, नेपाल प्रहरीको अनुसन्धान सम्बन्धि विशिष्टिकृत ब्यूरोहरु, संघीय प्रहरी ईकाई कार्यालयका प्रमुखहरु, फरेन्सिक विज्ञहरु, अदालतका रजिष्ट्रार तथा श्रेस्तेदारहरु र मुद्धा चल्ने प्रहरी ईकाईका प्रतिनिधि प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

अपराध अनुसन्धान कार्ययोजनाले अपराध अनुसन्धान र अभियोजनमा पारेको प्रभावको समिक्षा र सामुहिक छलफलबाट साझा धारणा तथा भावी रणनिति तयार गरी अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । “पीडितलाई न्याय तथा अपराधीलाई सजाय, आमनागरिकलाई सुरक्षाको भरोसा” भन्ने आदर्श वाक्य बोकेको अपराध अनुसन्धान कार्ययोजना २०७१ देखि लागू भएको थियो ।

कार्यक्रममा त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना कार्यान्वयनको अवस्था, मुलुकी फौजदारी अपराध संहिता, २०७४ को कार्यान्वयनको अवस्था र भावी रणनीतिहरु र कार्ययोजना कार्यान्वयनमा अभियोजनको भुमिका शीर्षकमा कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीकरणमाथि सम्बन्धित विज्ञबाट टिप्पणी तथा सहभागीहरुबीच विस्तृत छलफल समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्