हजुरआमा र दिदी पुरिएः ‘३ महिने बालिका कोक्रोमा परेकाले बाँचिन’(फोटोफिचर)



मोतीराम तिमल्सिना, बनेपा, काभ्रे ।
विहिबार साँझबाट परेको अविरल वर्षातका कारण बनेपा नगरपालिका वडा नम्वर ३ साविक उग्रचण्डी गाविस ७ चुनातालमा बारी बगाउँदा घर भित्र रहेका दुई जनाको निधन भएको छ भने दुईजनालाई स्थानीयले जिवितै उद्धार गरेका छन् ।

‘हामी रोटी पकाउने तयारीमा थियौं, एक्कासी गल्र्याम गरेको आवा सुनियो, हतार हतार बाहिर निस्किएर हेर्दा आफ्नै जेठानी गोमा दंगालको घर पछाडी रहेको काल्लो बारी बगाएर घर पुरिएछ’–देउरानी रिता दंगालले भन्नु भयो–‘घर लडेको देख्ने वितिक्कै छिमेकीहरुसँग गुहार माग्यौं, तत्कालै सबै जम्मा हुनु भयो र उद्धारमा लाग्यौं ।’ घटना भएको ४÷५ मिनेट पनि नहुँदै पुगेको रिताले बताउनु भयो । ‘हतार हतार हामीले पुरिएका मान्छेहरु निकाल्ने प्रयत्न ग¥यौं, जेठानी गोमा माख्लो तल्लामा ओछ्यानमा हुनुुहँदो रहेछ, ब्लान्केट ओढेर सुतेकाले होला, ब्लान्केटमै गुटुमुटु हुनु हुँदो रहेछ ।

आधा टाउको बाहिर र जिउ भित्र भएकाले बाँचेकै भन्ने सोच्यौं तर उहाँ वितिसक्नु भएछ’–रिताले घटनाका बारेमा भन्नु भयो–‘घर भित्रको चुल्हो र मुल ढोकाको याद रहेकाले गोमाको बुहारी शुशिला दंगाल खोज्न लाग्यौं । उनी मुल ढोकामा च्यापिएको अवस्थामा आधा शरिर बाहिर र आधा भित्र भएको अवस्थामा फेला परिन । ७ बर्षिया शुशिलाको छोरी सुहावी भित्रबाट बाहिर आउनै लाग्या पुरिईछन् भने कोक्रामा रहेकी ३ महिने छोरी जिउँदै अवस्थामा पछाडीको झ्यालबाट उद्धार भयो ।’

घर भित्र रहेका चार जना मध्ये हजुरआमा गोमा दंगाल र नातिनी सुहावीले ऐया भन्न पनि पाएनन । बाँचेकी बुहारी शुशिलाले बचाउ बचाउ भन्दै चिच्याएकी थिईन् । उनले घर भित्र सासु र दुई छोरी मात्रै रहेको बताए पछि उद्धारमा सहज भएको थियो । त्यति भने लगत्तै उनी बेहोस भएकी थिईन् । बनेपाको शिर मेमोरियल अस्पतालमा शुशिला र ३ महिने छोरी अनुस्का दाहालको उपचार भईरहेको छ । अस्पतालले दुबैलाई खतरा मुक्त भएको घोषणा गरेको छ ।
विहान १०.४० बजेको समयमा शुशिला खाना पकाउँदै थिईन् । सासु गोमा पानी परिरहेकाले ओछ्यानमा सुतिरहेकी थिईन् । जेठी छोरी सुहावी आमासँगै चुल्होमा थिईन् भने कान्छी काखकी ३ महिने छोरी अनुस्का कोक्रोमा थिईन् । घरलाई पहिरोले थिच्दा शुशिला छोरी लिएर बाहिर निस्कन लाग्दा ढोकामै थिचिएको बताईएको छ । गोमाका श्रीमान रामप्रसाद दंगाल दुध लिएर बनेपामा विक्री गर्न गएका थिए भने उनका छोरा अथार्त शुशिलाका श्रीमान हरिशरण दंगाल बैदेशिक रोजगारको सिलसिलामा दुबईमा छन् । अर्का छोरा र बुहारी बनेपामा बस्दै आएका छन् ।

भुकम्पले घर चर्किएपछि केहि समय टहरामा बस्दै आएका रामप्रसाद दंगालको परिवार गत वर्ष देखि त्यहि चर्किएको घरमा बस्दै आएका थिए । भुकम्प पछिको पुर्ननिर्माणका लागि उपलब्ध अनुदान रकमले बनेपामा घर बनाउँदै भए पनि सम्पन्न नभएकाले बस्न थालेका थिएनन् । घर पुरिएपछि अन्नपात केहि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निकालेका छन् । उक्त घर पुरिए पछि छिमेकी इन्द्र दाहालको घर पनि जोखिममा परेको छ । प्रहरीले उनिहरुलाई अन्यत्र बस्न भनिसकेको छ । छिमेकी इन्द्र दाहालले जोखिमका कारण अन्यत्र बस्न थालेको बताए ।

प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई विपदबाट सतर्क रहन नागरिकहरुलाई जानकारी गराउन र तयारी गर्न अनुरोध गरेको बताउनु भयो । सुरक्षा निकाय सबै परिचालन गरि घटनास्थलमा परिचालन गरिएको प्रजिअ रानाले बताउनु भयो । विष्णुृ दल गण धुलिखेलका गणपति सुवास खड्का, प्रहरी प्रमुख एसपी जयराज सापकोटा, शशस्त्र प्रहरी प्रमुख एसपी बेनु पाठक, अनुसन्धान प्रमुख सरोज निरौला आफै उद्धारमा खटिनु भएको छ ।

बनेपाको सहयोग
बनेपा नगरपालिकाले बनेपाको नालामा भएको दुख घटनामा परी घाईते भएकाको उपचारमा नगरपालिकाले पुर्ण सहयोग गर्ने भएको छ भने तत्कालका लागि मृतकको अन्त्येष्टी गर्न जनही ५÷५ हजार राहत स्वरुप उपलब्ध गराउने नगर प्रमुख लक्ष्मी नरसिं बादेले जानकारी दिनु भयो ।

थप राहतका लागि नगरपालिकाको कार्यपालिकाको बैठकले गर्ने नगर प्रमुख बादेले जानकारी दिनु भयो । विपद पछिको उद्धारका लागि तत्काल ५ हजार दिन सकिने निर्णय गरेकाले सबै नागरिक जोखिममा पर्दा त्यति रकम उपलब्ध गराउँदै आएको नगर प्रमुख बादेले बताउनु भयो । उपचारका लागि नगरपालिकाले आवश्यक रगत पनि निशुल्क उपलब्ध गराएको छ ।

पहिरोको उच्च जोखिम

जिल्लाभर पहिरोको उच्च जोखिम बढेको छ । ग्रामिण भेग जाने सडक मात्रै नभई विपी राजमार्ग समेत पानीकै कारण अवरुद्ध भयो । ग्रामिण भेगका धेरै सडकहरु अवरुद्ध भए सँगै पहाडी क्षेत्रका घरहरु जोखिमा छन् । पहिरोले केहि घरका मान्छेहरुलाई अन्यत्र पठाई सकिएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्