मकवानपुरमा बाढीपहिरोको वितन्डाः बालिकाको मृत्यु, महिला बेपत्ता



हेटौंडा, (नेस) ।
निरन्तरको वर्षाले मकवानपुरका छुट्टाछुट्टै स्थानमा दुई जनालाई बाढीले बगाएको छ । बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । उत्तरी मकवानपुरको थाहानगर–३ मा महभीर खोलाले बगाउँदा घाइते बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

दम्कीबाट खोलाले बगाएकी उनलाई करिब चार सय मिटर तल स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए । उनको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जनकल्याण माविको कक्षा–६ मा अध्ययनरत् सञ्चनालाई विद्यालयबाट फर्कने क्रममा तथा स्थानीय युवा सन्तोष बलामीलाई दम्कीबाट खोलाले बगाएको थियो ।

कैलाश–५, कालीखोलामा आएको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन्् । स्थानीय तारामाया पाख्रिन पहिरोमा हराइरहेको वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो । वर्षा जारी रहेको र खोला तर्न नसकिएका कारण स्थानीय घटनास्थलमा पुग्न सकेका छैनन् ।
निरन्तरको वर्षाले खोलामा बाढी आएका कारण धेरै स्थान डुबानमा परेका छन् । हेटौंडा–५ को शान्तिनगर डुबानमा परेको छ ।

त्यहाँका प्रायः धेरै घर डुबानमा परेका हुन् । घर डुबानमा परेर समस्या भएकालाई उद्धार गरिएको सशस्त्र प्रहरी बल हेटौंडाका डीएसपी अमर खत्रीले जानकारी दिनुभयो । उद्धारको काममा सशस्त्र प्रहरी शुक्रबार विहानैबाट लागेको उहाँले बताउनुभयो ।

भीमफेदी गाउँपालिकाको भैंसे बाघझोरा खोलामा बाढी आएका कारण गर्भवतीलाई हेटौंडा अस्पताल ल्याउन नसकिएपछि लोडरको सहयोगमा खोला तारेर ल्याइएको छ । सुत्केरी व्यथाले महिला छट्पटाउन थालेपछि लोडरको सहयोगले खोला तारिएको हो ।

मकवानपुरको बागमती गाउँपालिका–१ को बञ्जरे र माझगाउँ सम्झना बजारको सीमामा राईगाउँबाट हेटौंडा आउँदै गरेको यात्रुबाहक बस खेस्रेखोलामा अड्किएको स्थानीयले बताएका छन् । मनहरी गाउँपालिकाको धेरै क्षेत्र राप्ति नदीको जोखिममा भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
हेटौंडा–१३ स्थित कुखरेनी खोलामा लगातारको वर्षासँगै बाढी आएको छ । त्यहाँ विद्युत् लाइन नभएपछि खानेपानी र सञ्चारमा समस्या भएको छ ।

५ घर पहिरोको बीचमा
भीमफेदी–५ माथिल्लो दमारमा पहिरोको जोखिममा ५ घरका २६ जना परेका छन् । घरवरिपरिबाट पहिरो गएको र बीचमा पाँच घरका २६ जना जोखिमयुक्त स्थानमा रहेका हुन् ।

उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । स्थानीय सोमबहादुर घलानलगायत परिवार र अन्य परिवारलाई पहिरोले पुर्ने खतरा रहेको प्रहरीले जनाएको छ । पानी निरन्तर परिरहेकोले तत्काल उद्धारका लागि समस्या भएको छ ।

कोगटेलगायत दमारमा सिमेन्ट उद्योगले वातावरणीय मापदण्डविपरीत खानी उत्खनन् गरेका कारण पहिरोको जोखिम बढेको छ । गाउँपालिकाले महिनौं लगाएर निर्माण गरेको नयाँ बाटोको ट्रयाक तथा पूर्वाधार सडकका कारण पनि गाउँमा पहिरोको जोखिम बढेको छ ।
कोगटे, इपा, भीमफेदी दमार, सुपिङ, ज्यामिरे, माण्डु, धोर्सिङ र जुडीखेतमा भारी वर्षाले सडक पहिरोमा परिणत भएको छ । सुपिङमा यातायातको त कुरै छाडौं, मानिस हिँडन पनि कठिन भएको स्थानीय शिवराज पुडासैनीले बतानुभयो ।

पहिरोले पु¥यो कार

हेटौंडा–काठमाडौं छोटो दुरीको मार्गअन्तर्गत् इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१, कलंकीमा पहिरोले कार पुरेको छ । हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा.२ च ९९२० नम्बर निजी कार पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
सडकमा गुडिरहेको कारलाई पहिरोले पुरेको हो । पहिरोले कार पुरे पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । कार पुरेको स्थानमा नेपाली सेनाको टोली खटिएको छ ।

हेटौंडा–काठमाडांै सडक अवरुद्ध


वर्षाका कारण हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको फाखेल, सिस्नेरी र छेपारेमा पहिरो लडेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

निरन्तर वर्षाका कारण हेटौंडाबाट काठमाडांै जाने कान्तिलोकपथ सडक पनि चार दिनदेखि अवरुद्ध छ । मकवानपुरको कैलाश, राक्सिराङ गापा र हेटौंडाका सडक अवरुद्ध भएका कारण सवारीसाधन चल्न सकेका छैनन् । पूर्वी मकवानपुरको बकैया, बागमती सडकखण्डका केही भागमा सवारी आवगमन रोकिएको छ ।
निरन्तर वर्षाका कारण पूर्वी मकवानपुर र हेटौंडाको यातायात सम्पर्क टुटेको छ । वर्षाका कारण धरान–चतरा सडकखण्डको फुर्केचौर–श्रीपुर सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । पहिरोका कारण निर्माणाधीन सडकका केही क्षेत्रमा पिच भत्किएको छ ।
पहिरोले विद्युत् पोल ढाल्दा दुई दिनबाट पूर्वी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । यातायात बन्द हुँदा छतिवन, फापरबारी, राईगाउँलगायतका यात्रु अलपत्रमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्