त्रिभुवन विमानस्थल चार घण्टादेखि अवरुद्ध



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ ।

धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको बताउनुभयो ।

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तान्न लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

विमान धावन मार्ग नजिक धस्सिएकाले अहिलेकै अवस्थामा कुनै पनि उडान गर्न सकिन्न । विमान निकाल्न अझै कति समय लाग्ने टुङ्गो छैन । अहिलेको अवस्थामा उडान गर्न सकिने भए पनि सुरक्षा चासोलाई मध्यनजर गरी सेवा पुनः सञ्चालन गर्न नसकिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धस्सिएको विमानलाई निकाल्न असाध्यै गाह्रो भइरहेको छ । उपलब्ध सबै संयन्त्र परिचालन गरिएको छ तर पनि सफलता मिलेको छैन । अहिलेकै अवस्थामा उडान गर्न सकिन्छ तर ‘सेफ्टी’ का कारण रोकिएको हो । धावन मार्गदेखि विमानको पङ्खाबाट ८० मिटर टाढा हुनुपर्ने भएकाले अन्तर्राष्ट्रिय त उडान गर्नै मिल्दैन, आन्तरिक उडान चाँहि खोल्नेबारे छलफल भइरहेको छ ।”

काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ड’ गरिएको विमानस्थलले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँ आएको यतिको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो ।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ । उडान नम्बर एनवाइटी–४२२ ९नाइन एन एएमएम० विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्