वन जोगाउन उपभोक्ता सचेत हुन जरुरी



यमलाल भुसाल, बुटवल । रुपन्देहीको शंंकरनगर सामूदायिक वन समूहले वनको महत्व, संरक्षण, अभिवृद्वि र गुरुयोजनाकाबारेमा तिलोत्तमा १–४ का पार्षदहरुका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण शुक्रवार सकिएको छ ।

सामूदायिक वनलाई कानुनी विधि र प्रक्रिया अनुसार संरक्षणका लागि उपभोक्तालाई सचेत गराउने गरी वनले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

५ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन क्षेत्रमा विगत केही वर्षदेखि दीगो वन व्यवस्थापनको कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा सहजीकरण गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत गिरिप्रसाद गैरेले मौसम जलवायुमा वनले अत्यन्तै महत्वपूर्ण असर पार्ने बताउदै तातो हावालाई चिसो र चिसो हावालाई तातो तथा सुख्खा बनाई मौसमलाई सन्तुलनमा राख्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो ।

यस्तै वन विज्ञ तोलाकान्त डुम्रेले वन जंगलले घर र बालीहरूलाई हुरी र तातो घामबाट बचाइराख्नुका साथै ठूलो वर्षाबाट पनि बचाइराख्न महत्वपुर्ण भूमिका खेल्ने भएकाले वनलाई सवै मिलेर जोगाई राख्नुपर्ने वताउनु भयो । अर्को कुरा वनले विषाक्त दूषित पदार्थ शोषण गरी विश्व उष्णीकरण हुनबाट जोगाउने र जसले गर्दा पृथ्वीको तापक्रम ठिक्क राख्न मद्दत पुर्याउने हुनाले पनि वन जंगलको विकल्प अरु हुन नसक्ने डुम्रेले वताउनु भयो ।

कार्यक्रममा वनका कानुनी सल्लहाकार खुमकान्त पौडेलले सामुदायिक वनको विवादित ८२ विगाह जग्गाका सम्वन्धमा नारायण प्रसाद सापकोटाले सर्वोच्च अदालतमा पुनरावेदन दिएकोमा सर्वोच्च अदालतले उक्त जग्गाको पुनः नक्शागरि फैसला गर्नु भनी निर्देशनात्मक आदेश जारी गरेको जानकारी गराउनुभयो । सर्वोच्च अदालतको आदेश अनुसार उच्च अदालत तुलसीपुर वुटवल इजलासले आगामी असोज ९ गतेका लागि पेशी तोकेको उहांले जानकारी गराउनुभयो । सामुदायिक वनका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले वन जंगल एकातर्फ घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण छ भने अर्कोतर्फ वन जंगलको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको हुनाले यसलाई सबैमिलेर जोगाउनु पर्ने वताउनुभयो ।

समापन कार्यक्रममा सामुदायिक वनका अध्यक्ष राम गिरी, उपाध्यक्ष रविन्द्र वस्नेत, सचिव ईन्दु थापा, कोषाध्यक्ष कांशीराम काफ्ले, सदस्यहरु मिनप्रसाद देवकोटा, कमला ज्ञवाली, कालिका रेग्मी, तुलसा अर्याललगायतले वन संरक्षण र संवद्र्धनमा उपभोक्ताको सहभागिता र सक्रियताका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्