प्रदेश कार्यालयको खर्च २८, संघको ७२ प्रतिशत



पर्वत । असारको अन्तिम पुग्न लाग्दा पर्वतमा प्रदेश मातहतका कार्यालयको पुंजीगत खर्च न्युन देखिएको छ भने संघीय सरकार मातहतका कार्यालयको खर्च सन्तोषजनक देखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका अनुसार शुक्रबार सम्म प्रदेश मातहतका कार्यालयको खर्च जम्मा २८ प्रतिशत मात्रै देखिएको छ भने संघीय सरकार मातहतका कार्यालयको खर्च ७२ करोड भएको छ । प्रदेश मातहतका कार्यालयको १ अर्ब ४६ करोड ८४ लाख मध्ये शुक्रबार सम्म ४० करोड ९४ लाख रुपैंया मात्र खर्च भएको छ ।

यसैगरि संघीय कार्यालयको १ अर्ब ८७ करोड ५१ लाख बजेट मध्ये १ अर्ब ३५ करोड ४८ लाख रुपैया शुक्रबार सम्म खर्च भएको छ ।
प्रदेश मातहतका कार्यालयहरु ढिलोगरि सञ्चालनमा आएका कारण खर्च कम भएको छ भने संघ मातहतका कार्यालयले नियमित रुपमा काम गरिरहेका कारण खर्च बढी देखिएको प्रमुख कोष नियन्त्रक नवराज सापकोटाले जानकारी दिनुभयो । सबैभन्दा बढी रकम स्थानिय तहका योजनाहरुमा भएपनि स्थानिय तहको खर्चको बिबरण र निकासा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नहुने भएकाले खर्चको बिबरण प्राप्त भएको छैन । स्थानिय तहमा एकै दिनमा करोडौ रुपैंया भुक्तानी भएका छन ।

प्रदेश मातहतका कार्यालयहरुमा सबैभन्दा बढी पुर्वाधार बिकास कार्यालय पर्वतले खर्च गरेको छ । पुर्वाधार बिकास कार्यालयको ३९ प्रतिशत बजेट खर्च भएको छ । पुर्वाधारले पछिल्लो समय लगाएका ठुला ठेक्काहरु ऐन संशोधनका कारण रद्द भएका कारण लक्ष्य अनुरुप खर्च नभएको लेखापाल गौरबदास बैरागीले जानकारी दिनुभयो । प्रदेश मातहत पुर्वाधार बिकास कार्यालय, जलस्रोत तथा सिंचाई बिकास डिभीजन, स्वास्थ्य कार्यालय, वन डिभीजन, भू तथा जलाधार व्यवस्थापन कार्यालय, कृषि ज्ञानकेन्द्र लगायतका कार्यालय रहेका छन ।

संघीय सरकार अन्र्तगत मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, ग्रामिण सडक सञ्जाल सुधार आयोजना, पुननिर्माण प्राधिकरण अन्र्तगत बिद्यालय तथा निजी आवास निर्माण कार्यालय जस्ता ठुलो बजेट भएका कार्यालय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्