विहानैदेखि अवरुद्ध विपी राजमार्ग अझै खुलेन

दुई स्थानिय तहमा विद्युत अवरुद्ध



बुद्ध नेपाली, सिन्धुली । अबिरल बर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको बिपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन् । दुई दिन देखि परेको अबिरल बर्षाका कारण विपी राजमार्ग अन्तर्गत नेपालथोक सिन्धुली खण्डमा दुई ठाउँमा पहिरो खस्दा शुक्रवार विहानै देखि सडक अवरुद्ध भएको हो ।

बर्षाका कारण विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका –५ सोलाभज्याँङ र सुनकोशी गाउपालिका –१ को कमेरेफाँटमा पहिरो खस्दा अवरुद्ध भएको सडक विहानै देखि सफा गर्ने काम भए पनि अहिले सम्म पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जनाए ।‘पानी निरन्तर परेकाले पहिरो पन्छाउन सारै गाह्रो भएको छ । राजमार्ग भन्दा माथि खनिएका नयाँ सडकको लेदो खसेकाले पन्छाउन समस्या भएको हो । पानी परिरहेकाले जती पन्छायो त्यती माथिबाट आउछ’उनले भने ।

पहिरोले सडक अवरुद्ध हुदाँ बिपी राजमार्ग भएर गुड्ने सयैं सवारी साधान बिचबाटोमा रोकिदाँ यात्रु अलपत्र परेका छन् । विपी राजमार्ग भन्दा माथिबाट नयाँ सडक खनेका ठाउँमा पहिरो गएको उनले बताए । भर्खर खनेको सडकको लेदो सहितको पहिरो खसेको छ । उनले भने‘राती देखि अहिले सम्म नै निरन्तर पानी परेकाले पहिरो पन्छाउन समस्या भएको छ’ ।

गोलन्जोर र सुनकोशीमा विद्युत अवरुद्ध

निरन्तर परेको बर्षाले पोल ढल्दा सिन्धुलीको दुई स्थानिय तहमा गए राती देखि नै विद्यतु सेवा अबरुद्ध भएको छ । विद्युतका पोल ढल्दा गोलन्जोर र सुनकोशी गाउपालिकामा विद्युत सेवा अबरुद्ध भएको हो । गालन्जोर गाउपालिकामा ७ मा २, खुर्कोटमा १, ग्वाल्टारमा १, सुनकोशी गाउपालिकाको दुम्जामा ३ वटा र लक्ष्मी डाडाँमा १ वटा पोल ढल्दा विद्युत सेवा राती देखि नै अवरुद्ध भएको हो ।

विहानैदेखि निरन्तर पानी परेकाले ढलेका पोल फेर्न समस्या भएको विद्युत प्राधिकरणका प्राविधिक फत्त माझीले बताए । पानी नरोकिए सम्म ढलेका पोल फेर्न नसक्ने भएकाले आज विद्युत आउने सम्भावना कम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्