पहिरोले घर बगाउँदा तीन बेपत्ता, एक घाइते



रामधन राई, खोटाङ । खोटाङस्थित खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता बनेका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज (शुक्रबार) बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राईको रेखा राईसहित छोराछोरी बेपत्ता भएका छन् ।

शुक्रबार बिहान करिब पाँच बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्याम राईले बताउनुभयो । पहिरोले घर बगाउनासाथ स्थानीयले विष्णुलाई भने घाइते अवस्थामा उद्दार गरेका छन् । अहिले बेपत्ता बनेकाको उद्दारका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरीसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त तथा दुर्गम स्थानमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ता बनेका छोराछोरीको नाम र उमेर अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ ।
घरदेखि करीब ४ सय मिटरमाथिबाट पहिरो झरेको स्थानमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्दारमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत समेत अवरुद्ध बनेको छ ।

विद्युत सेवासमेत अवरुद्ध भएपछि जिल्ला अहिले अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्