‘उज्यालो दोगडाकेदार’ अभियान जारी



विनोद सिंह विष्ट, बैतडी ।  बैतडीको दोगडाकेदार गाँउपालिकालाई “उज्यालो दोगडाकेदार” बनाउने अभियान जारी रहेको छ । “उज्यालो दोगडाकेदार” बनाउने उद्देश्यले गाउँपालिकाका विभिन्न स्थानमा सडक सौर्य बत्ती जडान गर्नुका साथै निःशुल्क वितरण गर्ने कार्य जारी रहेको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत गाउँपालिकाका मुख्य बजार क्षेत्रमा सडक सौर्य बत्ती जडान गरिएकोे छ । खोचलेक र सिल्लेगडा बजारमा सडक सौर्य बत्ती जडान गरिएका दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरसिंह विष्टले बताउनुभयो । यसका साथै गाउँपालिका केन्द्र खोचलेकमा रहेको ग्लोबल आइएमई बैंक नजिक पनि सौर्य बत्ती राखिएको छ ।

दोगडाकेदार गाउँपालिकाको १९ लाख ४८ हजारको लगानीमा उक्त सडक सौर्य बत्ती जडान गरिएको हो । उक्त लगानीमा १७ वटा सडक सौर्य बत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उज्यालो दोगडाकेदार गाउँपालिका बनाउने अभियानका साथ सडक सौर्य बत्ती जडान गरिएका हुन् ।

यसका साथै रातीको समयमा सडकमा अध्यारो नहोस र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ । सडक सौर्यबत्ती जडानले नगरक्षेत्रका बासिन्दालाई सजिलो भएको छ । अगामी बर्ष गाउँपालिकाका अन्य स्थानमा पनि सौर्य बत्ती जडान गरिने जनाइएको छ ।

यसअघि गाँउपालिकालाई “उज्यालो दोगडाकेदार” बनाउन उद्देश्यले गाउँपालिकाभित्र निःशुल्क रुपमा १ हजार सोलार पाता वितरण गरेको थियो । विद्युत सेवाको पहुँच बाहिर रहेका दलित परिवारलाई निःशुल्क सोलार वितरण गरिएकोे हो ।

प्रतिक्रिया दिनुहोस्