असार सकिन लाग्दा पनि २० प्रतिशत मात्र रोपाइँ



लमजुङ । लमजुङमा असारको महिना सकिन लाग्दा पनि २० प्रतिशत मात्र धान रोपाई भएको छ । पर्याप्त बर्षा नहुँदा रोपाइँले गति लिन नसकेको हो । गतवर्ष यो अवधिमा ४० प्रतिशत रोपाई भएको थियो ।

यो वर्ष समयमा पर्याप्त बर्षा नहुँदा रोपाई ढिलो भएको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनु भयो । उहाँका अनुसार सिँचाइ सिविधा भएको आफ्नै मूल र कुलो लाग्ने भेग बाहेक अन्य स्थानमा रोपाइँ हुन सकेको छैन ।

गत वर्ष आफ्ना फाँटमा असार २० भित्रै सबै रोपाइँ सकिन्थ्यो, तर अहिले असार सकिन लाग्दासमेत पानी राम्रोसँग नभएकाले रोपाइँ सुरु नै गरेको छैन बेसीशहर नगरपालिका– ११ चितीका रुद्रनिधि तिवारीले बताउनु भयो । सुन्दरबजार– ६ की सीता केसीले खोलाखेतको रोपाई सकिए पनि पानी नभएर टारी खेत रोप्न नपाएको बताउनु भयो ।

लमजुङ जिल्लाका ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेती योग्यमध्ये १६ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लामा सिंचाईको सुविधा पुगेको क्षेत्रफल ५ हजार हेक्टर मात्रै छ केन्द्रका कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार जिल्लामा वार्षिक ५० हजार ८ सय ६२ मेट्रिक टन धान उत्पादन हुने लक्ष्यछ । त्यस्तै जिल्लाको ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुदै आएको छ ।

समयमा पानी नपर्दा गत वर्षको तुलनामा धान समेत घट्ने सम्भावना बढेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लाका ठूला फाँटका रूपमा रहेका करापुटार, भोर्लेटार, रम्घाटार, दुईपिप्ले, हाँडेटार, बरेटार, रामचोकफाँट, अर्चालबोट, राइनासटार, अल्काटार, साइलीटार लगायतका ठाउँमा बढी धान उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्