सुत्केरी आमालाई दुई हजार प्रोत्साहन भत्ता



विनोद सिंह विष्ट, बैतडी ।  बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्षदेखि नगर क्षेत्रका सुत्केरी आमाहरुलाई दुई हजार थप भत्ता दिने भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मातृशिशुमा पोषणमा सहयोग पुर्याउन लक्ष्य सहित नगर उपप्रमुख मातृशिशु सुरक्षा योजना गर्ने जनाएको छ ।

नेपाल सरकारले दिदै आएको प्रोत्साहन भत्तामा नगरपालिकाका तर्फबाट थप दुई हजार भत्ता दिने नगर उपप्रमुख मीना चन्दले घोषणा गर्नुभयो । नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै उहाँले सुत्केरी भएकी आमाको पोषणमा सुधार ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउन यो कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था मार्फत सुत्केरी आमाको हातमा भत्ता पुर्याइने नगर उपप्रमुख चन्दले बताउनुभयो ।

नगरपालिकाले घोषणा गरेको कार्यक्रमले संस्थागत सुत्केरीको संख्या बढ्ने र आमा र शिशुको स्वास्थ्यप्रति घरपरिवारको ध्यानाकर्षण हुने स्वास्थ्य कार्यालय बैतडीकी प्रमुख निशा जोशीले बताउनुभयो ।

यस्तै नगरपालिकाले अनाथ बालबालिकाहरुका लागि संरक्षण केन्द्र स्थापना गर्ने नीति पनि लिएको नगर प्रवक्ता चक्रप्रसाद शर्माले बताउनुभयो । नगरसभाले पारित गरेको निती,कार्यक्रम र बजेटका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिदै उहाँले नगरप्रमुख विपन्न आवास कार्यक्रम लागू गर्ने बताउनुभयो । ‘प्रत्येक वडामा कम्तीमा दुईओटा विपन्न आवास गृह निर्माणका लागि ५० हजारदेखि एकलाख सम्म सहयोग पुर्याउने गरि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नमूना सामुदायिक विद्यालयको अवधारणा, स्वास्थ्य संस्थाहरुको सबलीकरण, सडक यातायातमा सबैको पहुँच जस्ता कार्यक्रम अघि सारेको छ । यस्तै कृषि र पशु विकासका लागि महिलाहरुलाई कृषि क्षेत्रमा सरीक गराउने, किसानहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारेको नगर प्रवक्ता शर्माले बताउनुभयो ।

नगरपालिकाले घोषणा गरेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि ७४ करोड ६३ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्