यौन दुव्र्यवहार आरोपमा अर्बपति पक्राउ



बेइजिङ, (एजेन्सी) । चीनका अर्बपति प्रपर्टी डेभलपर वाङ झेन्हुवालाई सांघाई शहरमा प्रहरीले गिरफ्तार गरेको उनको पूर्व कम्पनीले बिहीबार पुष्टि गरेको छ। चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले गत साता वाङलाई बाल यौनअपराधको अभियोगमा हिरासतमा लिइएको जनाएको थियो।

बुधबार सांघाई प्रहरीले सामाजिक सञ्जाल वेइवोको आफ्नो औपचारिक एकाउन्टमार्फत वाङ र झोउ नाम गरेका दुईजना पुरुष बालयौन उत्पीडनको अभियोगमा गिरफ्तारीमा परेको जनाएको थियो।बिहीबार सरकारी प्रशारणकर्ता सीसी टेलिभिजनले कारगारमा थुनिएको अवस्थाको वाङको तस्वीर प्रशारण गरेको छ।

गत साता पहिलोचोटि हिरासतमा लिइना साथ ५७ वर्षीय वाङलाई फ्युचर ल्यान्ड डेभलपमेन्ट होल्डिंग्सले सो कम्पनीको अध्यक्षबाट हटाएको थियो। वाङको पक्षबाट यस घटनाबारे अझैसम्म कुनै पनि प्रतिक्रिया बाहिरिएको छैन। स्थानीय प्रहरीका अनुसार एकजना महिलाले वाङले आफ्नी नाबालिका छोरीलाई सांघाईको एउटा होटेलमा लगेर यौन दुव्र्यवहार गरेको उजुरी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्