इमरानको अमेरिका भ्रमणमा ट्रम्पसँग वार्ता हुने



वासिंटन, (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई २२ मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग ह्वाइट हाउसमा भेटवार्ता गर्ने भएको छ। दुई नेताबीच आतंकवादलगायतका मुद्दामा छलफल हुने सम्भावना रहेको ह्वाइट हाउसबाट जारी एक विज्ञप्तीमा जनाएको छ।

ट्रम्प र इमरानबीच दक्षिण एसियामा शान्तिपूर्ण स्थिति बनाउन र दुई देशबीच स्थायी सहभागिताका लक्ष्यहरुमा छलफल हुने ह्वाइट हाउसले जनाएको छ। उनीहरुले आतंकवाद, रक्षा, उर्जा र व्यापारिक मुद्दा सल्टाउने प्रयास पनि गर्ने बताइएको छ

गत वर्ष अगस्टमा प्रधानमन्त्री बनेका इमरान खान यो पहिलो अमेरिकाको भ्रमण हुनेछ। बुधबार पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलाले पनि प्रधानमन्त्रीको यात्राका विषयमा जानकारी दिएका थिए। प्रधानमन्त्रीको भ्रमणलाई लिएर अमेरिकाको सम्पर्कमा रहेको उनले जानकारी दिएका थिए। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा इमरान खान अफगानिस्तानको मुद्दामा पनि छलफल गर्न इच्छुक रहको बताइएको छ। पाकिस्तानमा शान्ति र स्थिरताका लागि उनले अफगानिस्तानमा राजनीतिक समाधानका प्रयास खोज्ने मन्त्रालयले जनाएको छ।

यसैबीच यसै महिनाको अन्त्यतिर हुने पाकस्तानी प्रधानमन्त्रीको प्रस्तावित भ्रमणका विषयमा अमेरिकी विदेश मन्त्रालयलाई कुनै जानकारी नभएको खुलासा भएको छ। मन्त्रालयको साप्ताहिक प्रेस विज्ञप्तीमा प्रधानमन्त्री खानको भ्रमणका विषयमा कुनै उल्लेख छैन। इमरान र ट्रम्पबीच हुने बैठकका विषयमा सोधिएको एक प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता मोर्गान अर्टेगसले ‘ह्वाइट हाउसबाट त्यसको पुष्टि’ भएको आफूलाई ज्ञान नभएको बताएकी छिन्।

उक्त भ्रमण निश्चित हो वा होइन भन्ने पुष्टि गर्न आफू ह्वाइट हाउसमा पुग्ने उनले बताइन्। ‘विदेश मन्त्रालयका तर्फबाट यस विषयमा घोषणा गर्नुपर्ने केही छैन’ –उनले थपिन्।

प्रतिक्रिया दिनुहोस्