भुवनको साइनो ट्रेलरमा



नेपाली फिल्मकी प्रथम अभिनेतृ भुवन चन्द थापाद्वारा निर्माणाधीन फिल्म साइनोको ट्रेलर बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
आगामी साउन २४ गते अल नेपाल रिलिज हुने फिल्ममा मिरुना मगर, निता ढुंगाना, भुवन चन्द, बसुन्धरा भुषाल, नवकलाकार राजकुमार, मदनदास श्रेष्ठ, विशाल पहाडीलगायतले अभिनय गरेका छन्।

चेलिबेटी बेचबिखनको कथामा बनेको फिल्मको ट्रेलरमा राजकुमार र मिरुनाको प्रेम तथा सामाजिक परिस्थिति प्रस्तुत गरिएको छ। त्रिकोणात्मक प्रेमकथामा निर्माणाधीन फिल्ममा रमेश थापाको डेब्यु निर्देशन रहेको छ। शरण थापा सहनिर्माता रहेको फिल्ममा लेखन अभिमन्यु निरवी, रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन रहेको छ।

फिल्मकी निर्मात्री भुवन चन्दले फिल्म बनाएर चलाउन निकै कठिन महसुस भएको बताइन्। ‘अरुको फिल्ममा हामीजस्ता कलाकारले काम नै पाउन छाड्यौं। काम पाए पनि सबैको आ–आफ्नै ग्रुप छ’, भुवनको भनाइ थियो– ‘आफ्नो कलाकारिता जोगाउन र पलायन हुनबाट जोगिन पनि आफैं फिल्म बनाएर सानोतिनो भूमिका गरेकी हु”।’

प्रतिक्रिया दिनुहोस्