झर्रा शब्दावलीको स्वाद ‘चियर्स’मा



यदु भट्ट ।

जाजरकोट खलंगाका दिलीप शाहलाई जाजरकोटे भन्नै नमिल्ने छ । आफूलाई कथाकारकमा रुपमा चिनाइसकेकाले व्यापारी व्यवसायीभन्दा माथिको परिचय नै बनिसकेको छ उनको । उनी हुन् कथाकार । नेपाली झर्रा शब्दावलीको ठेट प्रयोग गरेर आफ्ना कृतिलाई कसिलो बनाउने सीप र क्षमता भेट्न सकिन्छ । यसअघि उनका मौन धारण, जालो, श्रद्धासुमन, मुर्दार काठमान्डु, बघिनी जस्ता कथासंग्रह प्रकाशित भइसकेका छन् । जुन चर्चामा पनि रहेका छन् । यस्तै चर्चाको सफलताको सिँढी चढ्दै गर्दा हालै उनको अर्को कृति बजारमा आएको छ चियर्स ।

यस चिसर्य कथा संग्रहमा जम्मा २० वटा कथा समेटिएका छन् । पूरै गाउँले जीवनमा आधारित रहेका लेखिएका कथा भए पनि राजनीति गन्ध भने कृतिमा भेट्न सकिन्छ । सामाजिक कुसंस्कार, कुरीति तथा विभेदलाई कथामा समेटिएको पाइन्छ । साथै ग्रामीण भेगका महिलामा देखिएको पछौटेपन तथा शिक्षाको कमीलाई कथामार्फत सटिक ढंगले प्रस्तुत गरिएको छ । ल्यापटपलाई ‘ल्याक्टो’ भन्नु यसको दृष्टान्त मान्न सकिन्छ । त्यति मात्रै नभएर बुढेसकालको सहारा मानेका छोराहरु विदेश ‘अमेरिका’ पलायन हुनु, आफूहरु सहाराविहीन हुन पुग्नु जस्ता कथानकले आम नेपाली आमाबुबाको मन छुने खालको प्रस्तुति छ ।

२०७२ सालको भूकम्पको कथा समेटिएको छ ‘झट्का’ मा । २०७२ वैशाख ११ सम्म नाकमुख नदेखेका, आफूलाई सम्भ्रान्त, कुलीन तथा उपल्लो दर्जाका ठान्नेहरु वैशाख १२ पछि एकैठाउँमा बस्न पुगेका तीतो यथार्थलाई ‘झट्का’ ले समेटेको छ । विशेष गरी तराई मूलका मान्छेलाई मान्छे होइन जस्तो गरी हेप्ने काठमाडौंबासीको बानीलाई भूकम्पको झड्काले दरै झड्का दिएको छ । मान्छे मान्छे सबै एक हुन्, धनसम्पत्ति ठूलो कुरा होइन रहेछ भन्ने कुरा कथाकारले व्यक्त गरेका छन् ।

नारी सौन्दर्यलाई नकार्न नसकिने पुरुषको बानीलाई पनि कथाकारले सटिक ढंगले प्रस्तुत गरेका छन् । नारी र नशाको लतमा फसेपछि जुनसुकै पुरुष आफ्नो आदर्श छोडेर नारी, महिला, स्त्रीतिर ढल्कन्छ भन्ने कुरा आगोको छेउमा नौनी घिउ बन्छन् पुरुष भनी कथामा पढ्न पाइन्छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १ सय ८२ पृष्ठ लामो कथासंग्रहको मूल्य २ सय ९० महँगो होइन । पुस्तकमा प्रयोग गरिएको कागज गुणस्तरीय छ । भाषिक शुद्धतामा केही कमीकमजोरी पक्ष देखिन्छ । तर दाँतमा ढुंगो लाग्ने खालको चाहिँ होइन । हरेक कथाका शीर्षक सार्थक नै छन् । पुस्तकबाट साभार गरिएको केही पदावली यस प्रकार छन् । यिनले कथामा गहनाका रुपमा काम गरेका छन् ।

–तिम्रै अगाडि माइली बज्यै विधवा भएकी हुन् । किस्नेकी आमा त झन् बालविधुवा हुन् । रुपा, तारा, शान्ता विधुवा छन् । भन्न त हाम्रो समाजमा लोग्नेको लाससँगै आइमाईको पजन्दगानी खरानी हुन्छ भनिन्छ । कथन त्यसै बनेको होइन, केही सत्यता होला, पूर्ण भने छैन ।

–औकातभन्दा बढी नगर है, बूढा । भगवान्को प्यारो हुने समयमा दुःख पाइएला । समाज हेर । समाजमा चलिआएको रीरतथिति हेर । बिरलैका सन्तान जन्म दिने आमाबाबुका बैसाखी भएको मैले देखेकी छु, सुनेकी छु ।
–घृणा गर्नुको पछाडि एक मात्र गुप्त तत्व उनको बाबु हो । हो उनलाई जन्माउने बाबु ।

–ऊ सहरको नामी, सम्पन्न र पहुँचवाला व्यक्ति थियो । मरिसक्यो । नरकमा सड्दै होला । धेरै समाजसेवाको काम गरिटोपलेको थियो । ठाउँठाउँमा उसका सालिक बनेका छन् । उसका नामबाट सडक, स्कुलका नाम राखिएका छन् । यो उसको बाह्य आवरण थियो ।

–कसरी भने गोमतीले पोइलाई सन्तुष्ट बनाइसकेपछि भोपिल्ट झिसमिसेमै ब्युँझनपर्ने विवशताले अलिकति निदाउने चेष्टा गर्थी । तर, एकदुईपटक तुक्र्याउनासाथ टाउराहरुको पानीसँगै निलेको चारोखलास भइसक्ने हुनाले निद्रा बोर्डरपारि चलान भइसकेको हुन्थ्यो ।

–‘देशैभरि धेरै मान्छे मरेको हल्ला रेडियाले फुक्दै छ । सहरका दङ्गाफसाद घट्नुको सट्टा बढ्दो छ रे । कलि आएको हो कि फेरि चुनाव हुनलाई हो ?’ बिर्खेले चुनावको मौसमताका चाख्न पाइने मासु, भात, रक्सी सम्झेर नेतासमक्ष जिज्ञासाको घडा फुटालेको थियो ।

प्रतिक्रिया दिनुहोस्