डा. केसीको आपत्ति



नेपाल समाचारपत्र, काठमाडौ ।
राजनीतिक प्रभावका आधारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको नियुक्ति भयो भन्दै प्रा.डा.गोविन्द केसीले आपत्ति जनाउनुभएको छ ।

डा. केसीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी ‘चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं, तर सरकार योग्यता र क्षमताको भन्दा राजनीतिक प्रभावमा नियुक्ति गरिरहेको छ’ भन्नुभएको छ ।

डा. केसीले लामो सत्याग्रहपछि २०७५ साउन १९ गते चिकित्सा शिक्षा विधेयकमा बुँदागत रुपमा संशोधन गरेर पारित गर्ने प्रतिबद्धतासहित सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा नल्याएकोमा आपत्ति प्रकट गर्नुभयो । ‘सुधारको मर्मविपरीत प्रधानमन्त्रीकै निर्देशनमा माफियामुखी प्रावधानहरु राखेर जबर्जस्ती ऐन पारित गरियो’ उहाँले भन्नुभयो ।

डा. केसीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘अहिले मेडिकल कलेजहरुमा मात्र नभई नर्सिङलगायत सीटीइभीटीअन्तर्गतका शिक्षण संस्थाहरु लथालिंग छन् । मन्त्रीलगायत राजनीतिज्ञहरुको स्वार्थ र मिलेमतोका कारण ती संस्था पढाउनेभन्दा पनि डिग्री बेच्ने थलो बनेका छन् । हालै नर्सिङ काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षाको नतिजाले पनि यो कुरा देखाउँछ ।

चिकित्सा शिक्षा ऐन पारित गर्ने बेला सीटीइभिटीलाई आयोगको कार्यक्षेत्रभन्दा बाहिर पार्न भएको राजनीतिज्ञहरुको प्रयासको यस्तो पृष्ठभुमि हामीबाट लुकेको छैन । आयोग बनेपछि पनि पार्टीको स्वार्थअनुसार परिचालित हुने उपाध्यक्ष ल्याउने हो र आयोग नियमनको सट्टा मिलेमतोको बाटो लाग्ने हो भने सुधारको दिशामा अहिलेसम्म हात परेका उपलब्धिहरु पनि गुम्ने निश्चित छ ।’

सरकारले नियुक्ति प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने हैन, योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पनुपर्छ, उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्