सर्लाही घटनाः मृतकका परिवारलाई १० लाख राहत



नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका सरोजनारायण सिंहको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ।

गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सिंहको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजननिक गर्न विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिंहको परिवारलाई राहत दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको भएको बिल सरकारले तिरिदिने निर्णय भएको बताउनुभयो ।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। त्यसक्रममा सिंहको टाउकोमा गोली लागेको थियो ।

यस साता बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २५ वटा निर्णय गरेको थियो । यही असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले बीउ विजनको किसिम, जातहरूको सूची नेपाल राजपत्रमा प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।

बैठकले सडक डिभिजन नेपालगञ्ज, बाँके महेन्द्र राजमार्गको नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपालगञ्जलाई भोगाधिकार दिएकामा सो सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगञ्जको नाममा कायम गर्ने निर्णय गरेको छ ।

ऐतिहासिक बागदरवारको संरक्षण सम्बन्धमा सर्वोच्च अदालतको आदेशअनुसार उक्त दरवारको वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरूपको मौलिकतालाई कायम राखी पुनःनिर्माण, पुनस्र्थापनाको विषयमा अध्ययन र विश्लेषण गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्