कांग्रेस बैठक पुनः आज, चौध एजेन्डा



रामकृष्ण चापागाईँ, काठमाडौं ।
नेपाली काग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ । गत आइतवार १४ वटा एजेण्डा मात्र प्रस्तुत गरेर रोकिएको बैठक आज पुनः बस्न लागेको हो ।
बैठकको प्रमुख एजेण्डा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रकृया अघि बढाउने रहेको छ ।

यस्तै बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण गर्ने, २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत हुने बताइएको छ ।

केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति, भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भातृ संघ आदिबारे आजको बैठकले निर्णय लिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काग्रेसमा तल्लो तहको संरचना निर्माण गर्दा १३ औं महाधिवेशनको बाकी अवधिको लागि तदर्थ समिति बनाएर नेतृत्वमा मनोनित गर्नुपर्ने एकपक्ष नेताहरुको भनाइ छ भने अर्कोपक्षले निर्वाचनबाटै नेतृत्व छान्नुपर्ने अडान लिँदै आएका छन् । संस्थापन सहमति र मनोनित तथा नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलापक्ष निर्वाचनको पक्षमा हुनुहुन्छ ।

नियमावली मस्यौदा समितिकी सदस्य इश्वरी न्यौपानेले नेपाल समाचारपत्रसँग भन्नुभयो– विधान र नियमावली अनुसार नै हुने भन्दै अधिवेशनमा त्यहाका नेतावीच सहमति भए सहमति र नभए भोटिङ गरेर नेतृत्व छानिन्छ ।

प्रतिक्रिया दिनुहोस्