नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता सम्पन्न



काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

बैंकको केन्द्रिय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले यस सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्याउन सहज हुने बताउनु भयो । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको र ६० जिल्लामा जिल्ला महिला उद्यमी समिति अन्तरगत ११ हजार भन्दा बढी महिला उद्यमीहरु रहेको र २४ वटा वस्तुगत संघहरु समेतको गणना गर्दा झण्डै अर्को एक लाख उद्यमी सदस्य रहेका छन् ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले औद्योगिक क्षेत्रको एउटा प्रमुख संस्थासँग सरकारद्घारा घोषित सहुलियत कर्जा प्रवाहमा गरिने सहकार्यले उद्यमशीलताको विकास हुन गई सुखी नेपाली, समृद्घ नेपालको राष्ट्रिय अभियानलाई सहयोग पुर्याउने बताउनुभयो ।

सहमति अनुसार रावा बैंकले निर्धारण गरेको विधि र प्रक्रियामा महासंघले विभिन्न कर्जामा सदस्य उद्यमीहरुलाई सहजीकरण गर्ने छ । सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि तथा पशुंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय कर्जा रहेका छन् भने नियमित कर्जा अन्तरगत स्वच्छ वातावरणीय सवारी साधन कर्जा र लघु, घरेलु तथा साना उद्योग कर्जा छन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सभापति बासुदेब गिरी, महासचिव डम्बरप्रसाद रेग्मी, केन्द्रिय महिला उद्यमी समिति उपसभापति रिता अवालेलगायत महासंघका पदाधिकारी तथा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, उपस्थिती रहेको थियो ।

कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख नारायणप्रसाद लामिछानेले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो भने उपप्रबन्धक रोहित रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्