मदिराका कारण हिंसा बढ्दो

विहान पतिविरुद्ध उजुरी, बेलुका छाडिदिन आग्रह



हेटौंडा । मकवानपुरगढी गाउँपालिकाकी ४५ वर्षीया कलावती राना पतिको यातना सहन नसकी न्याय माग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुग्नुभयो ।

पतिले दिनहुँ मदिरासेवन गरी कुटपिट गर्न थालेपछि उहाँ न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आउनुभएको थियो । ‘एक दिन, दुई दिन होइन, दिनहुँ मदिरामा लठ्ठिएर कुटपिट गर्ने, मैले कमाएको पैसाले समेत मदिरासेवन गर्न थालेपछि म न्याय माग्न आएकी हुँ,’ उहाँले भन्नुभयो–घरमा छोराछोरी छन् । छोराछोरी कसरी पढाउने चिन्ता छैन, मदिराले घरबार उजाड बनायो ।

यो त उदाहरण मात्र हो, मकवानपुरमा पछिल्लो समय मदिराका कारण कयौंको घरबार बिग्रिएका छन् भने मदिराले घरेलुहिंसा, महिला हिंसासमेत हुने गरेको छ । अन्य घटनाको तथ्यांक हेर्ने हो भने घरेलु हिंसा बढ्दो क्रममा रहेको देखिन्छ । घरेलुहिंसाका कारक मदिरा भएको प्रहरी महिला सेलकी कृपा बाँस्तोलाले बताउनुभयो ।

प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार जबसम्म मदिरा निषेध गर्न सकिँदैन, तबसम्म महिलामाथि हुने हिंसामा कमी आउँदैन । ‘हामीले विगतदेखि हरेक क्षेत्रमा मदिरानिषेधको आवाज उठाएका छौं, तर कसैले सुनेका छैनन्,’ उहाँले भन्नुभयो–जसको फलस्वरुप महिलामाथि हरेक प्रकारका विभेद र हिंसाका घटना बढ्दै गएका छन् ।

मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न नसक्दा समस्या बढेको प्रनि श्रेष्ठको भनाइ छ । अधिकांश घरेलुहिंसाका घटना मिलापत्रमा टुंगिने गरेका छन् । विहान पतिको नाममा उजुरी गर्छन्, बेलुकी होइन गल्ती गर्यो छोडिदिनुपर्यो भनेर उनै महिला आउँछन्, जसका कारण घरेलुहिंसाका घटनामा मुद्धा दर्ता हुन नसकेको प्रनि श्रेष्ठले गुनासो गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुृरको आर्थिक वर्ष २०७५/०७६ को हालसम्मको तथ्यांकअनुसार जिल्लामा चार सय ५८ वटा घरेलु हिंसा भएका छन् । जसमा तीन सय ६ वटा फच्छ्र्यौट भएको छ । अधिकांश घरेलुहिंसाका घटना मदिराका कारण भएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन घटनाका पाँच वटा मुद्धा दर्ता भएका छन् । जबर्जस्ती करणीमा ३१ मुद्धा दर्ता भएकोमा ६ वटा फच्छ्र्यौट भएका छन् । लैङ्गीक हिंसा तथा अन्यमा दुई सय २५ घटना दर्ता एकसय ४७ फच्छ्र्यौट भएका छन् । गर्भपतन एक, वहुविवाह २६, भवितव्य १५, डुबेर दुई, विष खाएर ३३, आगो लगाएर एक, झुण्डिएर ३२ को संख्यामा घटना दर्ता भएका छन् ।

हराएकोमा भने महिलातर्फ दुई सय २३ जनामा एकसय ६४ फच्छ्र्यौट भएको छ । बालकतर्फ ३७ संख्यामा ३२ फच्छ्र्यौट भएको प्रहरीले जनाएको छ । बालिकातर्फ एक सय चार हराएकोेमा ८८ वटा फच्छ्र्यौट भएको छ ।

प्रतिक्रिया दिनुहोस्