सामूदायिक विद्यालयका विद्यार्थीहरु गणित र विज्ञानमा कमजोर



सरोज यादव, विराटनगर। प्रदेश १ का सामूदायिक माध्यमिक विद्यालयहरुका विद्यार्थीहरु गणित र विज्ञान विषयमा कमजोर रहेको पाइएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले प्रदेश नम्बर १ को सामुदायिक माध्यमिक विद्यालयहरुको राष्ट्रिय परीक्षण हेर्दा गणित र विज्ञान कमजोर रहेको जनाएको हो ।

विराटनगरमा भएको उक कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका शाखा अधिकृत प्रकाश खरेलले प्रदेश नम्बर २ को गणितको अवस्था भने राम्रो रहेको बताउनु भयो । उहाँले प्रदेश १ को सामुदायिक माध्यामिक विद्यालयहरुको अवस्था समग्रमा भने मध्यम रहेको बताउनुभयो ।

सरोकारवालाहरुसँग भएको छलफल कार्यक्रममा शाखा अधिकृत खरेलले २४ जिल्लाका सबै १ हजार ९ सय ६७ विद्यालयहरुको गुणस्तर परीक्षण गर्दा कञ्चनपुरको १ विद्यालय मात्र उच्च स्तरमा रहेको बताउनु भयो ।

आर्थिक वर्ष २०७४/०७५ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले छनौट भएका परामर्शदाता संस्थाहरु मार्फत २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका २४ जिल्लाका सबै १ हजार ९ सय ६७ तथा ५ जिल्लामा शिक्षा विभागले नमुना विद्यालय विकासका लागि छनौट गरेका ३२ समेत गरी १ हजार ९ सय ९९ सामुदायिक माध्यमिक विद्यालयहरुको परीक्षण गरेको थियो ।

विद्यालयहरुको भौतिक अवस्था , मानव संसाधन र समुदायको लगानीको अवस्था लेखाजोखा गरी स्तर निर्धारण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्