वर्षाको समयमा घरटहरा हटाउन महानगरको सुकुम्वासीलाई पत्र



सरोज यादव, विराटनगर। वर्षातको समयमा विराटनगर महानगरले घरटहरा हटाउन पत्रलेखेपछि विराटनगर १ पोखरीयास्थित परोपकार घाट छेउमा लामो समयदेखी बसोबास गर्दै आएका ७ सुकुम्बासी परिवार बिचल्लिमा परेका छन ।

उनीहरुले लामो समयदेखि बस्दै आएको थाकथलो छाडेर अन्यत्र जाने स्थान नभएको भन्दै आफुहरुलाई घरजग्गाको उचित ब्यवस्थापन गरिदिन माग गरेका छन ।

विराटनगर महानगरपालिकाले परोपकार घाट छेउमा सडकको जग्गा अनाधिकृतिरुपमा अतिक्रमण गरि घर टहरा निर्माण गरेर बसेको भन्दै त्यहांबाट हटन असार २३ गते ७ दिने सुचना जारी गरेपछि उनिहरुले आफुहरुलाई अन्यत्र जग्गा उपलब्ध गराइदिन माग गरेका हुन ।

परोपकार घाट जाने मोडको सडक छेउमा घर टहरा निर्माण गरेर बस्दै आएका सातै परिवारले विबहीबार नेपाल पत्रकार महासंघ मोरंग शाखामा पत्रकार सम्मेलनको आयोजना गरि त्यस्तो माग राखेका हुन । पत्रकार सम्मेलनमा बोल्नुहुँदै सो ठाउँकी सुकुम्बासी ६५ बर्षिय हसिना खातुनले बर्षातको मौसममा घरटहरा हटाउने पत्र आएपछि आफुहरु समस्यामा परेको बताउनुभयो । उहाँले त्यस ठाउँमा आफुहरु ४० बर्ष अघिदेखि घरटहरा बनाएर बस्दै आएको बताउनुहुंदै विकल्प दिएर मात्र आफुहरुलाई अन्यत्र सार्नुपर्ने माग गर्नुभयो ।

सोहि ठाउँका युवा हुसैन शेखले परोपकार घाट वरिपरि ८० सुकुम्बासी परिवारको बसोबास रहेपनि ७ परिवारलाई मात्र विस्थापित गर्न खोजिएको दाबी गर्नुभयो ।

सुकुम्बासी समस्या समाधान आयोगबाट समेत आफुहरुले सुकुम्बासीको परिचयपत्र प्राप्त गरेको जानकारी दिदै हुसैनले अन्यत्र जग्गा उपलब्ध गराइदिए आफुहरु सो ठांउबाट घर हटाउन तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्