इलाममा राजश्व संकलन १५ प्रतिशतले वृद्धि

हालसम्म २७ करोड ७३ लाख रुपैंयाँ संकलन



गणेश घिमिरे, इलाम । करदाता सेवा कार्यालय इलामले चालू आर्थिक वर्षको हालसम्म १६ प्रतिशत बढिले राजश्व संकलन गरेको छ । साउनदेखि हालसम्म लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । हाल असार २५ गतेसम्म २७ करोड ७३ लाख रुपैंयाँ राजश्व संकलन गरेको हो ।

जुन गत आर्थिक बर्ष ०७४/०७५ को भन्दा १६ दशमलव ४ प्रतिशतले बढि हो । चालु आर्थिक बर्षमा कार्यालयले ३२ करोड रुपैंयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक बर्षमा कार्यालयले २१ करोड १३ लाख रुपैंयाँ राजश्व संकलन गरेको थियो ।

कर शिक्षाको प्रभावकारिता, आमनागरिकमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास, करको दर र दायराबारे बुझाउन सक्दा राजस्व संकलन बढेको कार्यालयका प्रमुख कर अधिकृत प्रकाश राईले बताउनुभयो । करको दायरामा नआएका करदातालाई दायरामा ल्याउन सक्नु, विभिन्न निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थालगायत सरकारी, गैरसरकारी निकायको सहयोग र कर्मचारीको लगनशीलता र पारदर्शिताले गर्दा विभागले दिएको लक्ष्य अनुसार राजश्व संकलन गर्न सक्ने अवस्थामा पुगेको अधिकृत राईको भनाई छ ।

कार्यालयका अनुसार चालू आर्थिक बर्षको जेठ मसान्तसम्म मूल्य अभिबृद्धि कर ११ करोड ९६ लाख, आयकर ४८ लाख ३४ हजार रुपैंयाँ संकलन भएको छ । पारिश्रमीक आयकर १५ लाख ७६ हजार, सम्पत्ति बहाल तथा पट्टाकर ९३ लाख ४१ हजार रुपैंयाँ संकलन भएको छ ।

यसैगरी ब्याजकर ६१ लाख २४ हजार, अन्तशुल्कबाट ५१ लाख ५१ हजार, स्वास्थ्य, शिक्षा तथा अन्यबाट १४ लाख १९ हजार रुपैंयाँ राजश्व संकलन भएको छ । कार्यालयले सेवा वापत र वस्तुगत कारोबारमा मात्रै राजश्व संकलन गर्छ । कर कार्यालयमा जिल्लाभरका दशहजारको हाराहारीमा ब्यबसायि करमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्