बाग्दुला– भीमगिठे सडकको सर्भे अन्तिम चरणमा



सलिम अन्सारी, प्युठान । रणनैतिक महत्वको बाग्दुला – भिमगिठे सडकको सर्भे अन्तिम चरणमा पुगेको छ । गत बैशाख दोस्रो साता बाग्दुला देखि सुरु गरिएको सर्भेको काम सकिन लागेको हो । तुन्दी कन्स्ट्रक्सन सानेपा ललितपुरले सर्भेको काम गरिरहेको हो।

बाग्दुला देखि बागलुङको बलिगाड १० डर्लिङ सम्मको सर्भे सकिएको र अब १० किमिमात्रै सर्भेको काम बाँकी रहेको सर्भेयर गौरव खनालले बताउनुभयो। “सडकको मापदण्डअनुसार परिमाणमा हुने परिवर्तनको भेरिफिकेसन गर्न गरिएको कन्स्ट्रक्सन सर्भेको काम केही दिनमै सकिँदैछ” उहाले भन्नुभयो, “दशै लगत्तै ठेकेदारले निर्माणको काम सुरु गर्ने छन ।” उहाँका अनुसार आयोजनाको डिटेल सर्भे,भौतिक अध्यन र डिजाईन संगै भईरहेको छ। सडक विभाग सडक सुधार आयोजना अन्तर्गत निर्माण हुने यो सडकको सर्भे गर्न ६ जनाको प्राविधिक टोली खटिएको खनालले जानकारी दिनुभयो ।

एम्सी इन्डियन कम्पनी र तुन्डी नेपाल जेभी ललितपुरले सडक निर्माणको जिम्मा पाएका छन। आवास्यक रेखदेखका लागि गुल्मीको अग्लुङ्फेदीमा निर्माण कम्पनी र परामर्सदाताको कार्यालय समेत स्थापना गरिएको छ। एक्जिम बैंकमार्फत भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७४ किमि दूरी कालोपत्रे गर्न लागिएको हो ।

पौने ३ अर्व रुपैयाँ लागत रहेको यो सडक योजना आगामी ३ वर्ष्भित्रमै निर्माण सम्पन्न हुने सडक सुधार विकास योजना काठमाडौंका संयोजक सुशीलबाबू ढकालले बताउनुभयो । २ लेन यो सडकको दुवै तर्फ १५–१५ मिटर फराकिलो बनाईने छ । हाल ट्रयाक खोलिएको सडकलाई ९ मिटर चौडा बनाएर ७ मिटर कालोपत्रे गरिने स्टिमेट छ । बाग्दुलादेखि अर्खासम्म ४४ किमि कच्ची सडक निर्माण भइसकेको छ । सडकले प्यूठानतर्फ प्यूठान नगरपालिका, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ भने गुल्मीको मदाने गाउँपालिकाको अग्लुङ र बागलुङको बडीगाड गाउँपालिका समेटेको छ । सडक आसपासमा सयौं भौतिक संरचना छन् ।

सडक क्षेत्रमा रहेका भौतिक संरचनाको मूल्यांकनका आधारमा क्षतिपूर्ति दिई हटाएर फराकिलो बनाइने ढकालले बताउनुभयो । ‘सडकको सन् २०१६ मा डिटेल सर्वे गरिएको थियो । सडक निर्माणपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीलाई प्रत्यक्ष फाइदा पुग्ने छ । भारतको कोइलावास, दाङको भालुबाङ, प्यूठानको बाग्दुला, बागलुङको भीमगिठे भएर म्याग्दीको बेनी र मुस्ताङ हुँदै चीन जोड्ने उक्त सडकको लक्ष्य हो ।

पूर्व–पश्चिम रागमार्गअन्तर्गत दाङको भालुबाङदेखि भीमगिठेसम्म १ सय ३२ किमि दूरीमा मध्यपहाडी राजमार्ग जोडिन्छ । भालुबाङ–बाग्दुला ५९ किमि दूरी यसअघि नै कालोपत्रे भइसकेको छ । ‘सडक निर्माणले यस क्षेत्रको समग्र आर्थिक विकासमा फडको मार्ने आशा गरिएको छ,’ गौमुखी २ अर्खाका वडा अध्यक्ष डोर बहादुर रानाले भन्नुभयो, ‘स्वर्गद्वारी, गौमुखी हुँदै मुक्तिनाथ जाने यस सडकले जिल्लाको पर्यटकीय ढोका खोल्नेछ ।’

प्रतिक्रिया दिनुहोस्