प्रशिक्षक ज्याकी कोरिया जाँदै



काठमाडौं, (नेस)
नेपाल अल पिंगपंग मेम्बर्स (एपीएम) क्लबका प्रशिक्षक ज्याकी महर्जन दक्षिण कोरियाको सिओलमा हुन गइरहेको टेबलटेनिस प्रशिक्षणमा सहभागि हुने भएका छन् ।

महर्जनलाई एपीएम कोरिया क्लबका निर्देशकका साथै राष्ट्रिय जुनियर टेबलटेनिस टोलीका निर्देशक पार्क जी ह्युनले नेपाल एपीएम क्लबमार्फत् निमन्त्रणा गरेका हुन् । ११ जुलाईदेखि २३ जुलाईसम्म हुने प्रशिक्षणबाट टेबलटेनिसमा केही नयाँ अपडेट तथा सिक्ने मौका पाउने उनले विश्वास गरेका छन् । साथै उनले कोरियामा अरु राष्ट्रिय खेलाडीसँग भेटघाट गर्ने अवसर पाउने आसा गरेका छन् ।

महर्जनले राष्ट्रिय खेलकुद परिषदबाट छनोट भएर गत वर्ष भारतको पटियालास्थित नेताजी सुभाष संस्थानबाट डिप्लोमा कोर्स ए ग्रेडसहित उत्तीर्ण गरेका थिए । युवा प्रशिक्षकको रुपमा चिनिएका उनले हाल एपीएम क्लबका प्रशिक्षक हुनुका साथै प्रिमियर इन्टरनेसनल, केज टोटल फिटनेस, ग्वार्कोमा प्रशिक्षण गराउँदै आएका छन् ।

उनले जापान, दक्षिण कोरिया, भारत, साइप्रस, टर्कीमा भएका अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका थिए । त्यस्तै उनले २०१५ मा कोरियाको ग्वाङजुमा भएको २८औं समर युनिभर्सियाड गेममा नेपालको प्रतिनिधित्व समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्