क्यान्सरको कहर



क्यान्सर रोग पछिल्लो समय विश्वव्यापी एक कहरको विषय बनेको छ । जताततै क्यान्सरका बिरामी भेटिन्छन् । प्रकार–प्रकारका क्यान्सले मानिसलाई पिरलेको छ । क्यान्सर के हो र क्यान्सर निदानका नयाँ–नयाँ प्रविधिको प्रयोग कसरी गर्ने भन्ने बिषयमा नेपालमा यसै साता पहिलोपटक अन्तर्राष्ट्रिय ‘इम्युनो अंकोलोजी सम्मेलन’ भयो । नेप्लिज सोसाइटी अप मेडिकल अंकोलोजी क्यान्सर रोग विशेषज्ञहरुको साझा संगठनले उक्त सम्मेलन नेपालमा सम्पन्न ग¥यो ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेशका वरिष्ठ मेडिकल अंकोलोजिस्टहरुको सक्रिय सहभागिता थियो । सहभागी चिकित्सकहरुले विश्वमा प्रयोगमा आएको इम्युनो अंकोलोजी क्यान्सर उपचारको नयाँ विधा भएको पनि स्पष्ट पारे ।

बायप्सी र सर्जरी गर्दा सबै खाले क्यान्सर फैलदैन झन उपचार गर्न मद्दत मिल्छ तर बिरामी र हाम्रो समाजमा सर्जरी गरेपछि क्यान्सर फैलन्छ भन्ने भ्रम छ भन्ने जानकारी पनि सम्मेलनले दियो । यस्तै भ्रमका कारण क्यान्सरका बिरामी र आफन्त उपचार गर्न डराउँछन्, क्यान्सर लाग्ने बित्तिकै मान्छे मरिहाल्छ किन उपचार गर्ने भन्ने भ्रमलाई चिर्न पनि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्यो ।

सम्मेलनका विषयमा कतिपय सञ्चार माध्यमले महत्वका साथ क्यान्सर के हो भन्ने बिषयमा विज्ञहरुको भनाइलाई समेटेका छन् । क्यान्सर निकै महँगो र नसर्ने रोग भएकाले सञ्चार माध्यमले समस्या र समाधानका विषयमा विशेषज्ञहरुको अनुभवलाई अझ प्राथमिकतामा राख्नु आवश्यक पनि छ ।

विश्वमा यतिबेला इम्युनो अंकोलोजी क्यान्सर उपचारको नयाँ विकल्प प्रयोगमा छ । यस विकल्पअन्तर्गत औषधि प्रयोग गरी शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सरका कोषिकाहरु मारेर क्यान्सर रोगको उपचार गरिन्छ ।

इम्युनो अंकोलोजी विधिले क्यान्सर उपचारमा संसारभर राम्रो प्रभाव पारिरहेको र सोही योगदानअनुरुप यस अध्ययनले नोबेल पुरस्कारसमेत प्राप्त गर्न सफल भएको छ । साथै इम्युनो अंकोलोजीले सकारात्मक छवि बनाएकाले भविष्यमा यस विधिले नेतृत्व लिनसक्ने सम्भावना बढिरहेको छ ।

यही विषयलाई जनचेतनामूलक बनाउने उद्देश्यले सञ्चारमाध्यम सहितको सहभागितामा सम्मेलन आयोजना भएको देखिन्छ । यस विषयमा अझ जनमानसमा सहज र सरल रुपमा सूचना प्रवाह गर्ने कार्यमा सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारले पनि ध्यान दिनैपर्छ । जनस्वास्थ्यप्रति सरकार जिम्मेवार बन्न नसकेको भन्ने आलोचना आइरहेको अवस्थामा सरकारले सत्य, तथ्य बिषयलाई निष्पक्ष ढंगले सञ्चार माध्यममार्फत सार्वजनिक गर्नु जरुरी छ ।

स्वस्थ रुपमा बाँच्न पाउने नैसर्गिक अधिकार नागरिकमा अन्तरनिहित छ, त्यसको रक्षा गर्ने दायित्व सरकारकै हो । सरकारले जनउपेक्षा गर्ने हैन जनरक्षा गर्नुपर्छ । यस्तै विषयमा सहभागी विशेषज्ञ चिकित्सकहरुले क्यान्सर रोगको वृद्धिसँगै फैलिएको भ्रमलाई चिर्दै विनाअनुसन्धान विज्ञान प्रविधिले प्रमाणित नै नगरेका खाद्यलाई क्यान्सरको औषधि भन्दै खुलेआम बजारमा बिक्री–वितरण भैरहेका पदार्थहरुको भ्रम चिर्नसमेत सरकारको ध्यानाकर्षण गराए ।

यी यस्ता बिषयलाई बुलन्द रुपमा उठान गर्न सञ्चार माध्यमहरु लागेका छन् र अझ तदारुकताका साथ लाग्नुपर्छ । सरकारले यस्ता खाले सम्मेलनले निकालेका निष्कर्षको प्रभाव मूल्यांकन गरी कार्यान्वयनमा सहज बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्